संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ

संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरिरहेको बताउनुभएको हो । उहाँले तहगत अधिकार क्षेत्रमा स्पष्टता ल्याउन र अन्तर तह समन्वयलाई प्रभावकारी बनाउन ठोस पहल अगाडी बढाइएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले कार्य विस्तृतिकरण, राजश्व बाँडफाँट तथा संरचनामा देखिएको दोहोरोपना लगायतका अस्पष्टता र समस्या हल गर्न नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि विद्यमान समस्याहरु हल गर्ने ठोस पहलहरु भइरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संघीय प्रहरी सम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको बताउनुभयो । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको पनि उहाँको भनाइ छ । उहाँले सार्वजनिक खरिद ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन, भूमी लगायतका सम्बन्धित ऐनमा संशोधनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा सुधार आएको बताउनुभयो । उहाँले वाह्य क्षेत्र हालसम्मकै मजबुत अवस्थामा रहेको र सार्वजनिक वित्तको क्षेत्रमा समेत सुधार भएको बताउनु भयो । उहाँले राजश्व परिचालन वृद्धि भएको र पुँजीगत खर्च वद्धि गर्ने प्रयास गरिएको पनि बताउनुभयो । उहाँले मौद्रिक तथा वित्तीय क्षेत्र सवल रहेको र वित्तीय सहकारीका नियमन गर्न विशिष्टिकृत संस्था स्थापना गर्ने तथा सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने काम शुरु भएको बताउनुभयो ।

खबरपाटी
खबरपाटी