आईपीएल क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

आईपीएल क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हरायो । जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै भेट्टायो ।

चेन्नईको जितमा ओपनरद्वय रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यस्तै अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे । शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । बैंग्लुरुका अनुज रावत सर्वाधिक ४८ रनमा आउट भए । कप्तान फ्याप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन बनाए । दिनेश कार्तिक २८ रनमा अविजित रहे । क्यामरुन ग्रीनले १८ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । चेन्नईका मुस्तफिजुर रहमानले चार विकेट तथा दीपक चहरले एक विकेट लिए ।

उद्घाटन समारोहमा भारतीय कलाकारहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीती मोहनलगायतले प्रस्तुति राखेका थिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।

खबरपाटी
खबरपाटी