सुक्खा फोहर बेची आय संकलन गर्न महानगरले गर्यो प्रस्ताव आह्वान

सुक्खा फोहर बेची आय संकलन गर्न महानगरले गर्यो प्रस्ताव आह्वान

काठमाडौँ, काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहर बेची आय संकलनका लागि प्रस्ताव आह्वान गरेको छ। वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्मले ३० दिनभित्र सुक्खा फोहर खरिदका लागि आज प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

सुक्खा फोहर खरिदका लागि प्राप्त प्रस्ताव वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताको रोहवरमा खोलिने जनाएको छ। महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेशनमा दैनिक संकलन हुने सुक्खा फोहर बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको उक्त सूचनामा उल्लेख छ। यसैगरी उक्त विषयमा थप जानकारी काठमाडौँ महानगर वातावरण व्यवस्थापन विभागबाट लिन सकिने सूचनामा उल्लेख छ।
प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीलाई सुक्खा फोहर भन्ने गरिएको विभागका प्रमुख नवीनमान श्रेष्ठले बताएका छन ।  ‘नेपालमै यो सुक्खा फोहर बेची आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरिएको पहिलोपटक भएकाले यो सुरुवाती हो, कति आम्दानी हुन्छ अहिले जानकारी नभएको साथै उक्त रकम वातावरणको क्षेत्रमा लगानी गरिने उनको भनई छ ।
काठमाडौँमा प्रतिदिन ७ सय टन फोहर सङ्कलन हुने गरेको र टेकुमा मात्रै दैनिक २ सय टन फोहर आइरहेकाले कति टन सुक्खा फोहर जम्मा हुन्छ त्यो अहिले नै भन्न नसकिने श्रेष्ठले बताए।

खबरपाटी
खबरपाटी