सेयर बजारको यात्रा यो साता निरासाजनक

सेयर बजारको यात्रा यो साता निरासाजनक

प्रस्तुत कोईराला

काठमाडौं फागुन ११ ,सेयर बजारको यात्रा यो साता पनि भएन। सोमबार मात्र बजारमा केहि सुधारको संकेत देखा परेपनि बाँकी दिन भने बजारले निरासा देखायो । 

आइतबार २७ दशमलव २१ अंक घटेको थियो । जसकारण परिसूचक २०३४.८२ विन्दुमा झर्यो । 

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घट्यो । आइतबार घटेको परिसूचक बिहीबारसम्म नै ओरालो यात्रामा रह्यो । मंगलबार १.७६ अंक घटेर परिसूचक २०३३.०६ विन्दुमा झ¥यो । यस्तै साताको तेस्रो कारोबार दिन बुधबार ६.४६ अंक घटेर परिसूचक २०२६.५९ विन्दुमा झ¥यो । बिहीबार पनि बजार परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा झरेको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव शून्य ४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य २ प्रतिशत घटेको छ । 

आइतबार ३१५ धितोपत्रको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ९७ हजार १०५ पटकमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार र बुधबार कारोबार रकम घट्यो । मंगलबार ३१४ धितोपत्रको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ७६ हजार ८०३ पटकमा ३ अर्ब ११ करोड बराबरको कारोबार भयो । यस्तै बुधबार ३१३ धितोपत्रको ६३ लाख ४१ ह्जार १७४ कित्ता शेयर ५८ हजार ३६२ पटकमा २ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार भने बुधबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार ३ अर्ब २० करोड ६१ लाख रुपैयाँभन्दा बढीको ९५ लाख १८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । पछिल्लो समय बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सक्रियता समेत घटेको छ । मौद्रिक नीतिको समीक्षामार्फत पनि लगानीकर्ताको मनोबल सकारात्मक हुन नसक्दा दिनानुदिन कारोबार रकम घटेको जानकार बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत सेयर धितो कर्जामा लगाइएको गाँठो नफुकाइँदा लगानीकर्ता निरास बनेका छन् । समीक्षाअघि आम लगानीकर्ताले राष्ट्र बैंकले लचकता अपनाउने आशा गरेका थिए । तर, अपेक्षा अनुसारको मौद्रिक समीक्षा नआएकै कारण बजार सुस्त भएको जानकार बताउँछन् । 

साताभरमा धेरै कमाउनेमा बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त वित्तीय संस्था अगाडि रहे । बिहीबार बाहेक बोटलर्स नेपाल बालाजुको सेयर मूल्या हरेक दिन १० प्रतिशतले मूल्य बढ्यो । यस्तै समाज लघुवित्तको भने आइतबारदेखि बिहीबारसम्म नै १० प्रतिशतले मूल्य बढी नै रह्यो ।

आइतबार १० प्रतिशत मूल्य बढेपछि सकारात्मक सर्किट ब्रेक लागेर बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रतिकित्ता १० हजार २४२.९० रुपैयाँ र समाज लघुवित्तको १६३५.२० रुपैयाँ पुग्यो । आइतबारमात्र हैन, मंगलबार र बुधबार पनि यी दुवै कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लाग्यो । बुधबार यी दुई कम्पनी सहित हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट ब्रेक लाग्यो । 

बिहीबार समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता २ हजार १७६ रुपैयाँ ३० पैसा कायम भएको छ । जोशी हाइड्रोपावरको ९.८७ प्रतिशत र सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशत बढेको छ । आइतबार सबैभन्दा बढी सामलिङ पावर कम्पनीका सेयरधनीले गुमाए भने मंगलबार ग्रीन लाइफ हाइड्रोपावरको १० प्रतिशतले घटेर नकारात्मक सर्किट नै लाग्यो । बुधवार भने सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाएका छन् । बिहीबार हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ७.६० प्रतिशत घट्यो । यस कम्पनीको प्रतिकित्ता २५ रुपैयाँ ५० पैसाले घटेर अन्तिम मूल्य ३१० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

आइतबारदेखि बिहीबारसम्म सर्वाधिक सेयर खरीदबिक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । हरेक दिन सबैभन्दा बढी सेयर कारोबार गर्नेमा कम्पनी अगाडि रहेको हो । बिहीबार मात्रै पनि यस कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीको २ लाख ३७ हजार ४३९ कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका थए । जसमध्ये वित्त समूहको परिसूचक सबैभन्दा बढी २.७० प्रतिशत घटेको थियो । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी २.१५ प्रतिशत घटेको थियो । मंगलबार भने १३ समूहगत परिसूचकमध्ये ८ समूहको सूचक घट्यो र बाँकी समूहको सूचक बढ्यो ।

मंगलबार अन्य समूहको परिसूचक सबैभन्दा बढी १.१० प्रतिशत बढ्दा लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी ०.७४ प्रतिशत घट्यो । बुधबार १३ समूहगत परिसूचकमध्ये एक समूहको सूचक बढ्दा बाँकी सबै समूहको सूचक घट्यो । बुधबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी २.८४ प्रतिशत बढ्दा हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी ०.८८ प्रतिशत घट्यो । बिहीबार उत्पादन तथा प्रशोधन समूहको १.१४ प्रतिशत र वित्त समूहको ०.३३ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । बिहीबार बैंकिङको ०.९६ प्रतिशत, विकास बैंकको ०.८७ प्रतिशत, होटल्स तथा पर्यटनको १.४८ प्रतिशत, जलविद्युत्को १.९० प्रतिशत, लगानीको १.५४ प्रतिशत, जीवन बीमाको १.०७ प्रतिशत, लघुवित्तको ०.५२ प्रतिशत, म्युचुअल फण्डको ०.२४ प्रतिशत, निर्जीवन बीमाको १.४६ प्रतिशत, अन्यको ०.९० प्रतिशत र व्यापारिकको ०.६० प्रतिशत परिसूचक घटेको छ ।

 

 

खबरपाटी
खबरपाटी