काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जनाएको छ ।
काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।भोलि शुक्रबारदेखि देशको पश्चिम भेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जानकारी दिएको छ । भारी वर्षा र हिमपात हुने सम्भावना नभएपनि वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।