सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना बढ्दै

हरेक दिन साइबर अपराधसम्बन्धी ५० वटाभन्दा बढी उजुरी

सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना बढ्दै

सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना पनि बढेको छ । हरेक दिन साइबर अपराधसम्बन्धी ५० वटाभन्दा बढी उजुरी पर्ने गरेको प्रहरीले जनाएको छ ।

गएको  साउनदेखि अस्ति माघ २३ गतेसम्मको तथ्याङ्क अनुसार साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधका एक हजार नौ सय पाँच वटा रहेका छन् । प्रहरीकाअनुसार सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जर दुरुपयोगका नौ हजार तीन सय ५० वटा उजुरी परेका छन् ।

यस्तै, भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा उजुरी परेका छन् । साउनदेखि यता टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाएको भन्दै सरकारले यसलाई प्रतिबन्ध लगाइसकेको छ ।

सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् । उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाएर ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा उजुरी परेका प्रहरीले जनाएको छ । नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने उजुरी पनि धेरै छन् ।

खबरपाटी
खबरपाटी