काठमाडौं– गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ। बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।
वैदेशिक रोजगारीका लागि कोरिया जानेका सन्दर्भमा तय भएका कतिपय प्रावधानको विरोधमा युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मन्त्री ज्वाला झण्डावाल गाडीमा उक्त क्षेत्रमा पुगेका थिए।
मन्त्री ज्वाला घटनास्थलमा पुगेपछि आक्रोशित युवाहरुले प्रदर्शन थप चर्काएका थिए। जसक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली समेत चलाएको थियो। यस्तै, प्रदर्शनकारीले मन्त्रीको गाडी नै जलाइदिएका थिए।
प्रहरीको बल प्रयोगबाट अछामका शाह र दैलेखका रावतको ज्यान गएको थियो। उक्त घटनापछि सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको बताइएको छ। आयोगले ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको हो।
जाँचबुझ आयोगले गरेको छानबिनबाट बालकुमारी घटनाका दिन प्रहरीले घटनास्थलमा सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको देखिएको छ। यस्तै, घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको देखिएको आयोग स्रोतले जनाएको छ।