
सिन्धुली — कांग्रेस महामन्त्री गगन थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । सिन्धुलीको दुधौलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले डाक्टरहरुको आन्दोलनलाई सरकारले अनदेखा गरेको आरोप लगाए ।
प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले भने, 'एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि कसरी संघीयता बलियो हुन्छ ?'
'मुख्यमन्त्री जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल छ,' उनले भने, ‘यस्तो कहीं हुन्छ । प्रहरीको त परैजाओस् चाहिने कर्मचारीसमेत दिएको छैन ।'
कोशी प्रदेशमा केही दिनमै कांग्रेस नेतृत्वमा सरकार बन्ने उनले ठोकुवा गरे । कांग्रेसको जिम्मामा देश रहेकाले यो भएन, त्यो भएन भन्ने छुट नरहेको महामन्त्री थापाको भनाइ थियो ।नयाँ पार्टीलाई रत्नपार्कको पेटिमा बसेर दबाई बिक्री गर्नेको संज्ञा दिँदै महामन्त्री थापाले देश बनाउन 'जादुको छडी छ' भनेजस्तै गरेर हिँडेको आरोप लगाए ।