काठमाडौं । गण्डकी प्रदेशमा गत वर्ष भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सम्पन्न भएको करिब १० महिनापछि बुधबार पत्रकार सम्मेलनमार्फत नवौँ राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख चारहजार २३९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
राखेपका अनुसार सरकारबाट ६० करोड १० लाख र आन्तरिक रूपमा ५१ लाख रुपैयाँ गरी कुल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपैयाँ जम्मा भएकोमा विभिन्न शीर्षकमा ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ ।
राखेपले प्रतियोगिता लगत्तै ठुला चाड पर्व, त्यसपछि आम निर्वाचन, सरकारले खर्च कटौती गर्दै बजेट रोक्का गरेकाले र प्रतियोगिताको शीर्षकगत रूपमा विनियोजित मध्य अपुग रकम अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने भएकाले विवरण सार्वजनिक गर्न ढिलाइ बताएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले खर्चपछि बचत भएको ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैयाँ नेपाल सरकारकै स्वामित्वमा गइसकेको जानकारी दिए ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन भएको थियो । कुल ३९६ स्वणर् पदकका लागि भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली, एनआरएनए गरी ६ हजार १२७ जना खेलाडी सहभागी भएका थिए ।