होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी

लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कफ्र्यूको घोषणा गर्नुभएको छ ।

गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो । राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ । क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताउनुभएको छ । कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतङ्कवादी हमलापछि आफूले यस्तो कदम चालेको बताउनुभएको छ ।

राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो । अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा (एमएस–१३) समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो ।

खबरपाटी
खबरपाटी