रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

जिल्लाको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाउनुभएको छ ।

रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

 काठमाडौं । जिल्लाको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाउनुभएको छ । अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आज घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा गएको टोलीले अपाङ्गता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको हो । बहत्तर वर्षीया सुनुवारको यसअघि पनि नागरिकता बनाउन प्रयास गरिए पनि सफल नभएको वडा सदस्य रोजकुमार श्रेष्ठले बताउनुभयो ।

नागरिकता नबन्दा उहाँहरु सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए । प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफूलाई असाध्यै खुसी लागेको भक्तमायाका आफन्त मैया सुनुवारले बताउनुभयो ।

यातायातको सहज पहँुच नहुँदा अपाङ्गता भएका व्यक्ति तथा वृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । 

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने योजना रहेको प्रमुख जिल्ला अधिकारी निरौला बताउनुभयो ।  नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाले जनाएको छ ।   रासस

खबरपाटी
खबरपाटी