भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकताः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकताः मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा आज धनगढीमा आयोजित पूर्वबजेट छलफलमा मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार कठोर भएर अघि बढेको स्पष्ट पार्नुभयो ।

“भ्रष्टाचार नियन्त्रणका लागि सुझाव दिन गठन भएको प्रदेश कार्यतर्जुमा समितिले काम गरिरहेको छ ।” मुख्यमन्त्रीले भन्नुभयो । जनप्रतिनिधि र कर्मचारीले आपसमा सहकार्य गरेर उपलब्ध साधन स्रोत जनताका पक्षमा हुने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकता दिने बताउनुभयो । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्राप्त सुझावलाई समेटेर बजेट निर्माण गरिने बताउनुभयो ।

दुई दिने उक्त छलफल कार्यक्रममा प्रदेशका मुख्य सचिव, सचिव र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको छ ।
रासस

खबरपाटी
खबरपाटी