दुई दशक बित्यो तर पूरा भएन शहिद उद्यान

निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन

दुई दशक बित्यो तर पूरा भएन शहिद उद्यान

काठमाडौं । निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।

हालसम्म सङ्घ र प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत रु दुई करोड आठ लाख खर्च गरेर १२ किलोमिटर सडक, शहीद स्तम्भ तथा विभिन्न संरचना निर्माण गरिएका छन् । बजेट अभावका कारण उद्यानको काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।

उद्यान निर्माणका लागि २०६६ सालमा रु एक करोड, २०७४ मा रु ३८ लाख, २०७५ सालमा रु ४० लाख सङ्घीय सरकार र त्यसपछि २०७६ सालमा रु २० लाख, २०७७/२०७८ सालमा कोशी प्रदेश सरकारको रु १०/१० लाख खर्च भएको थियो । चालु आवमा बजेट नहुँदा समस्या भएको अध्यक्ष राईले बताए  ।

उद्यान निर्माणको काम पूरा गर्नका लागि प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेर लगेकाले अब  बाँकी काम चाँडै पूरा हुने गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ ।

खबरपाटी
खबरपाटी