ठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी

दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.ली ले निर्माण सम्पन्न

ठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी

काठमाडौं । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.ली ले निर्माण सम्पन्न भएको लामो समयसम्म भुत्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकार्षण गराएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वसन्तबहादुर भुजेलले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौता भएको लमजुङ्ग जिल्लाको डुम्रेवेशी शहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताएका हुन् । सरकारले भुत्तानी नदिँदा धितो जमानीमा रहेको सम्पत्तिसमेत बैंकले जफत गरेको उनको गुनासो छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुजेलले आफू राज्यबाट अन्यायमा परेको बताए । काम सम्पन्न भएको लामो समय वितिसक्दा पनि पाउनुपर्ने रकम ६८ करोड ८६ लाख ३८ हजार ६२ रुपैयाँ भुक्तानी नपाएको उनले बताए । उनले पत्रकार सम्मेलनमा प्रेस वक्तव्य सार्वजनिक गर्दै आफूलाई राज्यले क्षतिपुर्तिसहित तत्काल भुत्तानी नदिएमा कडाभन्दा कडा संघर्षमा जाने चेतावनीसमेत दिए ।

डुम्रवेशी शहर सडक र पुल निर्माणका लागि नेपाल सरकार सडक विभागद्धारा ठेक्का सम्झौताअनुसार कार्य सम्पन्न भइसकेको उनले बताए । सम्झौता भएबमोजिमको काम सम्पन्न गर्न बैंक अफ काठमाण्डुबाट आफूले कर्जा लिएको र सरकारले लामो समयसम्म भुक्तानी नदिएको कारण कर्जा लिँदा बैंकमा राखेको धितोसमेत लिलाम भएको उनले बताए ।

विनाकारण ठेक्का सम्झौता रद्द हुँदा सडक विभाग र कम्पनीको तर्फबाट विवाद समाधानका लागि ट्राइवुनल गठन गरी विवाद समाधानको प्रयास भएको उनले बताए । ट्राइवुनलको आदेशउपर आफू उच्च अदालत हुँदै सर्वोच्च पुगेको उनले बताए । सर्वोच्चले पनि दाबीबमोजिमको रकम पाउनुपर्नेमा कुनै विवाद नरहेको फैसला गरेको उनको भनाइ छ । निवेदकहरुको माग दाबी बमोजिमको रकम नेपाल सरकार निर्माण यातायात मन्त्रालय, सडक विभागले भुक्तानी गरी विवाद टुंग्याउनु उपयुक्त हुने फैसला सर्वोच्चले गरेपनि हालसम्म उक्त फैसला कार्यान्वयन हुन नसकेको उनले दुःखेसो छ ।

उनले तत्काल आफूले पाउनुपर्ने रकम र त्यसको क्षतिपूर्तिु समेत सरकारले दिनुपर्ने बताए । आफूलाई छिटो भन्दा छिटो न्याय नदिएमा कडा संघर्षमा उत्रिनेपनि उनले चेतावनी दिए । कार्यक्रममा अधिवक्ता धनप्रसाद गौतमले वसन्त भुजेल राज्यबाट पीडित भएको बताए । भुजेललाई तत्काले दिनुपर्ने रकम र त्यसको क्षतिपूर्ति दिन राज्य संवेदनशील हुनुपर्ने उनको भनाई छ । भुजेलको समस्या तत्काल वार्ताका माध्यमबाट समाधान गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराए । ‘ठेक्का सम्झौता भन्दा स्तरीय काम गर्ने व्यक्तिले पैसा पाउँदैनन् ।

राज्य यस्ता कुरामा संवेदन हुने कि नहुने ? म प्रधानमन्त्रीलाई यही मञ्चबाट भन्न चाहन्छु– उहाँहरुलाई तत्काल बोलाएर वार्तामार्फत के कति रकम दिनुपर्ने हो छानविन गरेर क्षतिपूर्तिसमेत दिनुपर्छ,’– उनले भने । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले वसन्तबहादुर भुजेललाई तत्काल न्याय दिन सरकारसँग आग्रह गरेका छन् । अदालतको फैसलासमेत लामो समयसम्म कार्यान्वयन नहुनु कानुनी राज्यको उपहास भएको उनले बताए ।

‘वसन्तजीलाई तुरुन्त न्याय दिइनुपर्दछ भनेर मैले प्रधानमन्त्रीसँग पनि भनेको छु । यो देश बनाउनका कसैले लगानी गर्र्छ भने उसलाई अन्याय गर्नुहुँदैन । त्यो पनि राज्यले अन्याय गर्नुहुँदैन । उसको परिवार र व्यवहार अस्तव्यस्त बनाउने काम राज्यले गर्नुहुँदैन,’–उनले भने । वसन्त भुजेललाई न्याय नदिए आफूहरु सरकारका विरुद्धमा विद्रोह गर्नेसमेत उनले चेतावनी दिए । उक्त परियोजना विश्व बैकको भएको र विश्व बैंकले नेपाल सरकारलाई भुत्तानी दिइसकेको अवस्थामा आफू नेपालको विरुद्ध मुद्दा हाल्न बाध्य नबनाउन उनले सरकारलाई आग्रह गरे ।

खबरपाटी
खबरपाटी