राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सहभागी

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सहभागी भएकी छन् ।

राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सहभागी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सहभागी भएकी छन् । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए ।

त्यस अवसरमा प्रादेशिक, जातीय र भूगोलको पहिचान दिने धार्मिक, सांस्कृतिक र परम्परागत गीतसङ्गीत र नृत्य प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा नेपालको प्रख्यात झिझिया, तामाङसेलो, कौरा, झ्याउरे, हुड्के, सोरठीका साथै किसान नाच समावेश गरिएको थियो ।

मुलुकको सबैभन्दा पुरानो गैरराजनीतिक सङ्गठनका रूपमा रहेको सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न विधाका उच्च पदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि सांस्कृतिक कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका चार पूर्वप्रमुखसमेत सहभागी थिए । रासस

खबरपाटी
खबरपाटी