रसुवा भन्सारका अधिकृत केसीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

रसुवा भन्सारका अधिकृत केसीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उनले पदीय दुरुपयोग गरी २ करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना र कैद तथा अवैध सम्पत्तिबाट बढे÷बढाइएको सम्पत्ति जफत गर्न समेत मागदाबी लिएको छ ।

अयोगेले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चको स्रोत पुष्टि हुन नसकेको जनाएको छ । लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्तिलाई बिगो र त्यसबाट बढेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई प्रतिवादी बनाएको हो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए । आयोगले केसीले २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्च विवरणमाथि अनुसन्धान गरेको थियो ।

आयोगले केसीविरुद्ध अकूत सम्पत्तिबाट बढे बढाइएको सबै चलअचल सम्पत्ति जफतको मागदाबी समेत गरेको छ ।

खबरपाटी
खबरपाटी