छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएको समाचारसँगै नेपालमा पनि यो भाइरस सहजै फैलिन सक्छ कि भन्ने चासो र त्रास बढ्दै गएको छ। यस्तो अवस्थामा निपाह भाइरस वास्तवमा के हो, यो कसरी सर्छ र यसबाट जोगिन के–कस्ता सावधानी अपनाउनुपर्छ भन्ने विषयमा स्पष्ट जानकारी हुनु अत्यन्त आवश्यक छ। यसै सन्दर्भमा हामीले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग निपाहा भाइरसका जोखिम, लक्षण र रोकथामका उपायबारे कुराकानी गरेका छौं।
अहिले छिमेकी मुलुक भारतमा निपाह भाइरस देखिएको खबरसँगै नेपालमा पनि डर देखिएको छ। खासमा निपाह भाइरस भनेको के हो ?
: निपाह भाइरस एक प्रकारको जोनोटिक डिजिज हो, अर्थात् जनावरबाट मानिसमा सर्ने रोग। अघिल्ला अनुभव हेर्दा यो भाइरस मुख्यतया चमेरा र सुंगुरबाट मानिसमा सर्ने गरेको पाइएको छ। अन्य जनावरबाट पनि सर्ने सम्भावना रहन्छ, तर हालसम्म त्यस्तो ठूलो प्रकोप देखिएको छैन।
यो भाइरस पहिलो पटक कहिले र कहाँ देखिएको हो ?
: सन् १९९८ मा मलेशियामा पहिलो पटक निपाह भाइरसको प्रकोप देखिएको हो। त्यतिबेला सुंगुरबाट मानिसमा संक्रमण फैलिएको थियो र करिब ४० देखि ७५ प्रतिशतसम्म मृत्युदर देखिएको थियो, जसले यसलाई निकै खतरनाक बनाउँछ।
भारत र बंगलादेशमा यसको अवस्था कस्तो छ ?
: भारत र बंगलादेशमा निपाह भाइरसको संक्रमणको स्वरूप फरक देखिएको छ। त्यहाँ मुख्यतया चमेराबाट मानिसमा सर्ने गरेको पाइन्छ। यी देशहरूमा बेला–बेला यसको प्रकोप देखिँदै आएको छ। हालै भारतको कोलकतासँग नजिकको एक गाउँमा यसको संक्रमण फैलिएको छ, जहाँ केही स्वास्थ्यकर्मीहरू समेत संक्रमित भएका छन्, जसले जोखिम अझ गम्भीर बनाएको छ।
यस्तो अवस्थामा नेपालमा निपाह भाइरस फैलिने जोखिम कति छ ?
: नेपालमा पनि जोखिम भने अवश्य छ। भारतसँग खुला सीमा हुनु, मानिस–मानिसबीच सर्ने सम्भावना रहनु र नेपालमा पशुपालन व्यापक रूपमा गरिनु जोखिमका कारण हुन्। तर अहिलेसम्म नेपालमा निपाह भाइरस पुष्टि भएको छैन। हाल सुंगुर र चमेरामा परीक्षण भइरहेको छ, तर पक्का रूपमा संक्रमण देखिएको छैन।
सर्वसाधारणले के–कस्ता कुरामा बढी सावधानी अपनाउनुपर्छ ?
: आजकाल धेरै मानिस पदयात्रा तथा जंगल क्षेत्रमा जाने गर्छन्। त्यस्ता ठाउँमा चमेराले खाएर छोडेका फलफूल वा खुला रूपमा रहेका खानेकुरा खाइयो भने संक्रमणको जोखिम हुन सक्छ। त्यसैले फलफूल राम्ररी पखालेर मात्र खानुपर्छ। काँचो खजुरको रस वा खुला खानेकुराबाट पनि जोगिनुपर्छ।
निपाह भाइरसका मुख्य लक्षणहरू के हुन् ?
: सुरुमा ज्वरो आउने, जिउ दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन्छन्, जुन सामान्य फ्लु जस्तै लाग्न सक्छ। तर पछि गएर मस्तिष्क सुन्निने समस्या देखिन्छ र इन्सेफलाइटिस हुन सक्छ। विगतका अनुभवअनुसार २४ देखि ४८ घण्टाभित्र बिरामी अचेत हुने र मृत्युसम्मको जोखिम बढ्ने देखिएको छ।
यस्तो अवस्थामा कसरी बच्न सकिन्छ ?
: माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ। सुंगुरमा संक्रमण छ कि छैन भनेर परीक्षण गर्नु आवश्यक हुन्छ, चमेरामा पनि निगरानी गर्नुपर्छ। यसो गर्न सके कृषकहरूलाई संक्रमणबाट जोगाउन सकिन्छ। यदि कुनै व्यक्ति निपाह भाइरस फैलिएको ठाउँबाट आएको छ र १४ दिनभित्र यस्ता लक्षण देखिन्छन् भने उसलाई तुरुन्त आइसोलेसनमा राख्नुपर्छ।
यस विषयमा सरकारको भूमिका कस्तो हुनुपर्छ ?
: सरकारले निपाह भाइरस के हो, कहाँ परीक्षण गर्ने, कसरी बच्ने भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्छ। समयमै सूचना र सतर्कता अपनाउन सके यसको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।