कांग्रेसको विशेष महाधिवेशन आजबाट शुरु : प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि

कांग्रेसको विशेष महाधिवेशन आजबाट शुरु : प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौँ - नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार शुरु हुँदैछ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको दुईदिने विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ।

त्यसअघि विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन्।  विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत स्थानबाट जुलुस निस्कनेछ। त्यसपछि कार्यक्रमस्थल भृकुटीमण्डपतर्फ बढ्नेछ ।

महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजे शुरु हुने छ। कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुने महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए। 


गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ।

सम्पूर्ण तयारी पूरा भइसकेको र ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकको दाबी छ। महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन्।
 

खबरपाटी
खबरपाटी