ललितपुरमा-३मा रास्वपाबाट प्रत्यक्षतर्फ आकांक्षी समुन्द्र केसी, परिपक्व नेतृत्वको आवश्यकता पुरा गर्ने

ललितपुरमा-३मा रास्वपाबाट प्रत्यक्षतर्फ आकांक्षी समुन्द्र केसी, परिपक्व नेतृत्वको आवश्यकता पुरा गर्ने

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीबाट फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर ३ मा समुन्द्र केसीले उम्मेद्वारी दिने बताएका छन् । 
सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा राजनीति शास्त्रमा एमफिल गरिरहेका छन् । त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाटै राजनीति शास्त्रमा एमए गरेका केसी सार्वजनिक प्रशासनमा पनि एम ए गरिरहेका छन् । 
ललितपुर, धापाखेलका स्थायी बासिन्दा केसी पेशाले शिक्षक हुन् । 
विवेकशील नेपाली अभियानबाट वैकल्पिक राजनीतिमा जोडिएका केसी विवेकशील साझा र रास्वपा एकिकरण भएपछि रास्वपाको नेतृत्वमा पुगेका हुन् । एकता अघि उनी विवेकशील साझा पार्टीका सचिव तथा विदेश विभाग प्रमुख थिए । जेनजी आन्दोलनपछि वैकल्पिक एकिकरणमा महत्वपूर्ण योगदान गरेका केसी  एकिकरणका लागि विवेकशील साझाले बनाएको संवाद समितिका सदस्य पनि थिए ।  
२०७२ सालमा विवेकशील अभियानमा जोडिएका केसी ललितपुर जिल्लाको नेतृत्व गर्दै बागमती प्रदेश सचिव पनि भएका थिए । 
उद्धमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा होमिएका हुन् ।
उनले विपत व्यवस्थापनका निम्ति भूकम्प, बाढी-पहिरो, तराईमा हुरि-बतास, आगलागी तथा काेरोना महामारी कालमा मैदानमा खटेर उल्लेख्य योगदान गरेका थिए।
मलेसियामा भएको एसियाली युवा नेताहरूको सम्मेलनमा नेपालको तर्फबाट केसीले प्रतिनिधित्व गरेका केसीले राजनीतिमा युवा सहभागीता र हस्तक्षेपका लागि निरन्तर आवाज उठाउने गरेका छन् । एक पाइला परिवर्तन तर्फ संस्थाका पूर्व अध्यक्ष रहेका उनी अन्तराष्ट्रिय पदकधारी तेक्वान्दो खेलाडी पनि हुन। उनले युवाहरू माझ चर्चित बहस कार्यक्रम डिडिएन (डिबेट नेटवर्क नेपाल) मा समेत सकृय भुमिका खेलेका थिए।
डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, ईनफ इज ईनफ अभियान, महिला हिंशा विरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान, ट्राफिक सचेतना अभियान लगायतका अभियानहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेका केसी एक दशकदेखि वैकल्पिक राजनीतिमा सकृय रहँदै आएका छन् ।
ललितपुरमा नै जन्मेर हुर्किएका केसी ललितपुरको जमिन र जनतासँग नजिकबाट जोडिएका नेता हुन् । उनी आफ्नो  बाल्यकाल धापाखेलको नागदह, कर्मनासा खोला, बालकुमारी मन्दिरको चौर, खुमलटारको कृषि, हरिसिद्धी, सुनाकोठि, ठेचो, ठैव, बुङ्मति र खोकनाका रमणीय जात्राहरू हेरेर बितेको बताउँछन् । ‘मेरा बाल्यकालका कैयन अविस्मरणीय पलहरू यसै क्षेत्र वरपर बितेका छन्,’ केसी भन्छन्,  ‘चाडपर्व लगायत थुप्रै सामाजिक कार्यक्रमहरूमा हामी धेरै सहयोग पाउने आशले नखिपोट, कुसुन्ती र थसीखेल जस्ता ठाउँहरूमा जान्थ्यौ । म यहीँको एक किसानको
नाति, शिक्षक बुवा र गृहिणी आमाको छोरा हुँ । त्यसैले, मैले यहाँका समस्या र आवश्कयतालाई नजिकाबाट बुझेको छु ।’  धापाखेलको जुगल स्कुलबाट एसएलसी गरेपछिसम्मको अध्ययन सकेपछि ओमेगा इन्टरनेशनलबाट टेनप्लस टु र ब्रिटिस कलेजबाट बिआइटी गरेका हुन् । 
कलेज पढ्ने विद्यार्थी हुँदै सामाजिक र राजनीतिक गतिविधिमा सरिक भएका केसीले ललितपुरमा भएका विभिन्न समाजिक/प्रशासनिक सुधारका आन्दोलनको नेतृत्व पनि गरेका थिए भने राष्ट्रिय स्वरूपका आन्दोलनमा ललितपुरको नेतृत्व पनि गरेका थिए । 
‘बालापनदेखि अहिले युवावस्थासम्म आइपुग्दा यो क्षेत्रको नशा नशा छामेको र बुझेको मलाई महसुश हुन्छ,’ केसी भन्छन्,  ‘त्यसैले, साँच्चिकै यो क्षेत्रका समस्या समाधान र विकासका कदमको लागि मैले केही गर्नुपर्छ  भन्ने महशुस भएर नै मैले ललितपुरको प्रतिनिधित्व गर्ने निधो गरेको हुँ ।’
‘ललितपुरका आजसम्मका प्रतिनिधिहरू जनताभन्दा अलग्गै हुने प्रवृत्ति देखिएको छ,’ केसी भन्छन्, ‘हाम्रो निर्वाचन क्षेत्रमा जनताले जनतासँगै हुने र जनताका समस्या तथा आवश्यकतालाई सक्षमताका साथ सरकारसम्म पुर्‍याउने नेतृत्व खोजेको हो । म जनतासँगै रहेर यो काम गर्नका लागि अघि सरेको हुँ ।’
ललिपुरले परिपक्व र सक्षम नेतृत्व खोजेको र आफ्नो उम्मेद्वारी यसैका लागि भएको उनको दाबी छ । ललितपुरमा भएका सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न भूमिका खेल्ने उनी बताउँछन् । 
‘म जनतासँगै बस्छु र जनताकै आवाज उठाइरहन्छु,’ केसी भन्छन्, ‘नेता र जनता अलग हुने अहिलेसम्मको परम्परा तोड्नु नै मेरो उद्देश्य हो ।’

खबरपाटी
खबरपाटी