अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प नरहेको रास्वपा सभापति लामिछानेको भनाई

अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प नरहेको रास्वपा सभापति लामिछानेको भनाई

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको अवस्थामा चुनावमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिमा रहेको कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले नवयुवाको आन्दोलनपछिको यो अवस्थामा चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो ।
देशमा सुशासन कायम गर्ने, नवयुवाका माग सम्बोधन गर्ने र चुनाव गराउने सन्दर्भमा रास्वपा सरकारसँगै रहेको भन्दै उहाँले नवयुवा विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने बताउनुभयो । चुनाव बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उहाँले त्यस्तो प्रयास सफल हुन नदिने बताउनुभयो ।
लामिछाने आजै पार्टी जिम्मेवारीमा फर्कनुभएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल पर्नुभएका लामिछानेले धरौटीमा रिहा भएपछि आजदेखि पार्टीको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँलाई पार्टीका उपसभापति डोलप्रसाद ९डीपी० अर्याल ले स्वागत गर्नुभयो ।
यसैबीच रास्वपाको केन्द्रीय समिति बैठक चलिरहेको छ । सभापति लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

खबरपाटी
खबरपाटी