काठमाडौँ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको तलब,भत्ता अपुग वा बढी हुने देखिए विवरणसहित सिफारिस गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।
विकास केन्द्रले आज सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकहरूकाे तलब भत्ता अपुग हुने वा बढी हुने देखिए सिफारिससाथ फागुनको पहिलो हप्ताभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा पठाउन आग्रह गरेको हो।
विकास केन्द्रले चालु आव २०८२।८३ मा शिक्षक दरबन्दी मिलानपश्चात् कायम भएको स्थानीय तहगत स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकका लागि नियमानुसार भुक्तानी दिनुपर्ने तलबभत्ता हिसाब गरी स्थानीय तहमा वित्तीय हस्तान्तरण भइसकेको छ।
‘विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत तहगत शिक्षकहरूको वार्षिक तलब र भत्ता नपुग तथा बढी हुने भएमा आधार र औचित्यसमेत उल्लेख गरी कार्यक्रम कार्यान्वयन कार्यविधि आव २०८२।८३ को अनुसूची १ बमोजिमको ढाँचामा प्रमाणित गरी २०८२ माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुहुन र शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका लागि स्वीकृत दरबन्दी तथा राहत अनुदान फोटासँग विवरण भिडान गरी यकिन गर्नुहुन र यकिनपश्चात् तलबभत्ता अपुग हुने वा बढी हुने देखिएमा सिफारिस साथ २०८२ फागुनको पहिलो हप्ताभित्र यस केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउनु हुनका लागि निर्णायानुसार अनुरोध छ’, सूचनामा उल्लेख छ।
यस्तै विकास केन्द्रले स्थानीय तहले नपुग हुने तलबभत्ता माग गर्दा दरबन्दी मिलान गरी स्थानीय तहका लागि कायम भएको दरबन्दी संख्या तथा एकाइबाट दरबन्दी मिलानका क्रममा थप भएको शिक्षक दरबन्दी संख्या भए सोसमेत एकीकृत गरी सोको प्रमाणित प्रति समेत राखी पठाउन आग्रह गरेको छ।