टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्क, चाबहिलमा “व्यवस्थापन र सूचना प्रविधिमार्फत सुशासन र दिगो विकासका लागि उच्च शिक्षामा नवीनता” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय शैक्षिक सम्मेलन भदौ २० गते हुने भएको छ।सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देव राज अधिकारीले गर्नेछन् भने काठमाडौँ विश्वविद्यालयका कुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
कार्यक्रममा १ प्लेनरी सेसन, ४ समानान्तर सेसन र ५० वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्। उच्च शिक्षा र भविष्यको दृष्टिकोण, व्यवस्थापन र आईटीको एकीकरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा तथा डिजिटल रूपान्तरण, सुशासन र दिगो विकासका लक्ष्य (SDGs) जस्ता विषयमा शैक्षिक क्षेत्रका विज्ञ, अनुसन्धानकर्मी, सार्वजनिक संस्थानका प्रतिनिधि तथा निजी क्षेत्रका सहभागीबीच विचार विमर्श हुने टेक्सास कलेजका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियाले जानकारी दिनुभयो।
उक्त सम्मेलनको आयोजक टेक्सास इन्टरनेशनल कलेज रहेको छ भने टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कूल सह-आयोजकका रूपमा रहेका छन्। यसैगरी, विश्वविद्यालय अनुदान आयोग (UGC) र त्रिभुवन विश्वविद्यालय (TU)ले सम्मेलनलाई सहयोग गरेका छन्।