मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको उल्लेख गर्दै आफू एमालेकै कार्यकर्ता भएको बताएकी छन्।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको नीति तथा कार्यक्रम अघि बढ्ने बताएकी हुन्।
विगत ४५ वर्षदेखि पार्टीको संगठित सदस्य रहेको भन्दै उनले आफ्नो पार्टी सदस्यतासमेत नवीकरण भइसकेको बताइन्।
उनले भनिन्, ‘म नेकपा एमाले नै हो। सोही पार्टीबाट राष्ट्रपति भएको हो। अहिले पनि म एमालेको कार्यकर्ता नै हो। मैले पार्टीकै हितका लागि काम गर्ने हो।’
पार्टीले भूमिका नदिए पनि आफू पार्टी संगठनकै सदस्य भएको उनले बताइन्। सदस्यताको विषयमा पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक रुपमा आफूलाई कुनै जानकारी नआएको भण्डारीको भनाइ छ।
उनले भनिन्, ‘पार्टी सदस्यता कसैले खोस्दैमा जाँदैन। एमालेले भूमिका नदिए पनि संगठन सदस्य हुँ।’
पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा वाम पार्टी धेरै भएको हुँदा एकताको सम्भावनालाई नकार्न नमिल्ने बताइन्।
यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटलाई उनले सहज रुपमा लिनुपर्ने बताइन्।