कैलाली - प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली जाँदैछन्।
राष्ट्रिय गौरवको रानीजमरा–कुलारिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ। आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको हो।
रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान आयोजना स्थल पुग्ने छन्। प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानी कर्णालीमा पुगेर अवलोकन गर्ने र त्यसपछि करिब १० किलोमिटर टाढा रहेको कार्यक्रम स्थल जानकी गाउँपालिका वडा नम्बर ९, कटासेस्थित विद्युत् गृह उद्घाटन गर्ने कार्यक्रम रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले जानकारी दिए । ऊर्जा मन्त्री दीपक खड्का पनि उद्घाटनमा सहभागी हुने छन्।
अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ। आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएको छ।
लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ। यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर हुने छ।