एनपिएल छानविन कार्यदलको प्रतिवेदन कार्यान्वयन हुन्छ, तर एनपिएल रोकिदैन : खेलकुद मन्त्री

एनपिएल छानविन कार्यदलको प्रतिवेदन कार्यान्वयन हुन्छ, तर एनपिएल रोकिदैन : खेलकुद मन्त्री

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को विवादको विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

मन्त्री चौधरीले शुक्रबार एक विज्ञप्ति निकाल्दै एनपिएलको पहिलो संस्करणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, अख्तियारकै पत्रको आधारमा छानविन कार्यदल गठन भएको र कार्यदलले प्रतिवेदन बुझाएको उल्लेख गरेका छन्। 

तर यो विषयलाई ‘अतिरन्जन’ गरेको भन्दै मन्त्रीले दुस्ख व्यक्त गरेका छन्। 

‘नेपालमा खेलप्रेमीलाई उत्साह, खेलाडीलाई अवसर सिर्जना गरेको नेपाल प्रिमियर लिग ९एनपिएल० को पहिलो संस्करणमा आयोजक संस्था नेपाल क्रिकेट संघ ९क्यान० को आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय छानबिन गर्नका लागि तहाँबाट पत्राचार भए बमोजिम नियमानुसार गठित छानविन कार्यदल मार्फत छानबिन भएको, सो कार्यदलले तयार गरेको छानबिन प्रतिवेदन मिति २०८२/०३/२५ गते बुझाइसकेको अवस्थामा उक्त विषयलाई अतिरन्जित गर्ने कार्य हुनु दुःखद हो,’ मन्त्रीको भनाइ छ। 

साथै मन्त्रीले कार्यदले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने पनि बताएका छन्।

नेपाल सरकारले नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको पनि उनको भनाइ छ। तर एनपिएल रोक्नका लागि आफ्नो संलग्नता भएको भन्ने सामाचार उनले खण्डन गरेका छन्। 

उनले भने, ‘नेपाल प्रिमियर लिगको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भुमिका नखेली दिनु हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु।’

खेल संघभित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने पनि मन्त्रीको भनाइ छ। 

खबरपाटी
खबरपाटी