काठमाडौं - युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो पर्व यूएफा महिला युरो शुरू भएको छ।
स्विट्जरल्याण्डमा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा फिनल्याण्डले आइसल्याण्डलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। आयोजक स्विट्जरल्याण्ड नर्वेसँग २–१ गोलले पराजित हुन पुग्यो।
युरोपका शीर्ष १६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जुलाई २७ तारिखमा हुनेछ। समिट अफ इमोसन्सको नारासहित सुरु भएको प्रतियोगिताले समानता, दिगोपन र सामाजिक परिवर्तनको सन्देश बोकेको छ।
प्रतियोगिताका १६ टोलीलाई चार समूहमा बाँडिएको छ। समूह एमा आयोजक स्विट्जरल्याण्डसहित नर्वे, आइसल्याण्ड र फिनल्यान्ड छन्। समूह बीमा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली रहादा समूह सीमा जर्मनी, पोल्याण्ड, डेनमार्क र स्विडेन छन्। समूह डीमा फ्रान्स, इंग्ल्याण्ड, वेल्स र नेदरल्यान्ड्स छन्।
स्पेन र जर्मनीले छनोट चरणमा एक–एक खेलमात्र हारेर सबैभन्दा पहिले प्रतियोगितामा स्थान सुरक्षित गरेका थिए। फ्रान्स, स्विडेन र पोल्याण्ड पनि सन् २०२५ मा अपराजित रहँदै आत्मविश्वासका साथ मैदान उत्रनेछन्।
महिला युरो २०२५ स्विट्जरल्याण्डका ८ विभिन्न सहरमा आयोजना हुनेछन्। प्रतियोगिताको टिकट बिक्री २०२४ को अक्टोबरदेखि शुरू भएको थियो।
हालसम्म प्रतियोगिताका लागि कुल ६ लाख ७३ मध्य ५ लाख ७० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। सबैभन्दा धेरै टिकट स्विट्जरल्याण्ड, जर्मनी र इंग्ल्याण्डका दर्शकहरूले किनेका छन्।
यस युरोको आधिकारिक मस्कटमा म्याड्ली नामक सेन्ट बर्नार्ड जातको कुकुर प्रयोग गरिएको छ। मस्कट स्विट्जरल्याण्डकी पहिलो महिला लाइसेन्स प्राप्त फुटबल खेलाडी मेडलिन बोलको नामबाट राखिएको हो।
समिट अफ इमोसन नारा दिइएको प्रतियोगिताले मानव अधिकार, लैङ्गकि समानता र सामाजिक समावेशिताजस्ता विषयमा विशेष प्राथमिकता दिने बताएको छ। यो नाराले स्विट्जरल्याण्डको हिमाली उचाइ र फुटबलको भावना दुवैलाई जोड्ने प्रयास गरेको छ।