वर्षाले खेल रद्द हुँदा नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा

वर्षाले खेल रद्द हुँदा नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा

 

काठमाडौँ – आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अङ्क बाँड्न बाध्य भए।

नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान ९ बजेबाट तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु गर्ने कार्यतालिका रहेको थियो। तर २० ओभरको खेल हुने समयमा पनि मैदान गिलो भएका कारण खेल हुन सम्भव भएन। योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा स्थान बनाएको छ।

   शुक्रबार रातिदेखि नै काठमाडौँका अधिकांश स्थानमा वर्षा भएको थियो। साथै आज बिहान पनि वर्षा निरन्तर हुँदा मैदान गिलो भयो। मैदानको कभर पनि हटाएर पटक-पटक अम्पायरले ग्राउन्ड चेक गरेको भए पनि खेल हुने सम्भावना भएन। तर, भिजेको आउटफिल्ड सुकाउन प्रयासका बाबजुत सम्भव भएन।

सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेको पानी हटाउने प्रयास गरेका थिए तर सकेनन्। अम्पायरले १:३० बजे मैदान निरीक्षण गरेर फर्किएका थिए। २ बजे पनि खेल हुन नसक्न बताएसँगै खेल रद्द भयो।

समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो। यो खेल रद्द भएकोले दुवै टोली अंक बाँडेका छन्। नेट रनरेटमा अगाडि भएको कारण सात अंकसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अंक रहे पनि नेपाल यसपल्ट अभागी सावित भयो।

खबरपाटी
खबरपाटी