भुटानी शरणार्थी थुनामा राखेको घटनामा सर्वोच्चमा दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट

भुटानी शरणार्थी थुनामा राखेको घटनामा सर्वोच्चमा दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट

१९ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरुलाई थुनामुक्त गर्न माग गरिएको  बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतमा दायर भएको छ। 

चैत १६ मा झापाको बेलडाँगी शिविरबाट पक्राउ परेका तीन जनामध्ये आशिष सुवेदीका बुबा नारायणकुमार सुवेदीले दायर गरेको रिटमा सुनुवाइ गर्न बिहीबारलाइ पेशी तोकिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बुधबार दायर भएको रिटको पेशी भोलिका लागि तोकिएको छ।

चैत १५ मा अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्‍याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो। कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरु अवैध रुपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्।

आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र  अशोक गुरूङ चैत १९ देखि काँकडभिट्टा प्रहरीको हिरासतमा छन्।

अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी भुटानबाट लखेटिएका छन्। उनीहरू भारतको सिलिगुडी आइपुगेका छन्।

अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको एक मानवअधिकार अभियन्ताले बताए।

तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ। अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ।

 

खबरपाटी
खबरपाटी