विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना

विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् 

माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै अघि बढेका शिक्षकहरूलाई नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रहरीले रोक लगाएपछि उनीहरूले सडकमै धर्ना दिएका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले यथाशिघ्र शिक्षा ऐन ल्याउनुपर्ने माग अघि सारेको छ । महासंघले पटक–पटक सरकारसँग भएका सहमतिहरूको कार्यान्वयन नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलनलाई तीव्र बनाएको हो ।

शिक्षक आन्दोलनका कारण हाल नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागिता नजनाउने, कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने, एसईईको उत्तरपुस्तिका मूल्यांकन नगर्ने निर्णय लिइसकेको छ ।

 

 

महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन ल्याउन सरकारलाई आग्रह गर्दै आएको छ । माग पूरा नभएसम्म शैक्षिक हडताल जारी रहने चेतावनी महासंघले दिएको छ ।

खबरपाटी
खबरपाटी