छामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार राति भएको आगलागीबाट पीडित भएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए । ‘उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने छ,’ उनले भने, ‘पालिकाले मानवीय सहायतासम्बन्धी मापदण्ड बनाएर राहत उपलब्ध गराउने छ ।’
क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए । प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्न सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णयसमेत गरको मुख्यमन्त्री शाहले जानकारी दिए ।
मंगलबार साँझ ७ बजे ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको थियो । आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट जयगढ बजारमा रहेका २७ वटा पसल र घरमा क्षति पुर्याएको थियो । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको डीएसपी भण्डारीले बताए । पुष्पराज शर्माको आइएमई सेन्टरबाट आगो फैलिएको थियो ।