बालेनले पठाएको जरिवानाको पत्र पूर्वराजाले बुझ्न मानेनन्, गेटबाट फर्कियो महानगरको गाडी

बालेनले पठाएको जरिवानाको पत्र पूर्वराजाले बुझ्न मानेनन्, गेटबाट फर्कियो महानगरको गाडी

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरुको आन्दोलनले निम्ताएको फोहोर र विनासको हिसावकिताव बोकेर नगर प्रहरीको टोली आइतबार बिहान निर्मल निवास पुगेको थियो तर, शाहले पत्र बुझ्न नमानेपछि टोली पत्र लिएरै फर्केको हो ।

प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पुर्याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।

पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए ।

त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।

खबरपाटी
खबरपाटी