गणतन्त्रवादी र राजवादीको प्रदर्शन : ड्रोनबाट निगरानी, टेलिफोनको टावर बन्ददेखि ठाउँठाउँमा वाटर क्यानन

गणतन्त्रवादी र राजवादीको प्रदर्शन : ड्रोनबाट निगरानी, टेलिफोनको टावर बन्ददेखि ठाउँठाउँमा वाटर क्यानन

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरू आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा आफ्नो शक्ति प्रदर्शन गर्दैैछन् । उनीहरुले आफूलाई परीक्षण गर्न पनि यो प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ छन् । समाजवादी मोर्चाका अन्य नेताहरुले पनि आफ्नो धारणा जनसभामा राख्ने कार्यक्रम छ ।

राजावादीहरुले पनि तिनकुनेमा विशाल प्रदर्शन गर्दैछन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

काठमाडौंमा दुई ठूला प्रदर्शन भएपनि सवारी साधन आवागमन प्रभावित भएको छ । प्रदर्शनमा कुनै अप्रीय घटना नहोस् भनेर सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ । सुरक्षाका लागि २५ सय प्रहरी खटाइएको छ ।

प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको बताइएको छ । सशस्त्र प्रहरीले पनि तयारी गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार १७ सय शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको छ ।

सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले बताए ।

यस्तै, प्रहरीले भीड नियन्त्रणका लागि ‘वाटर क्यानन’ पनि राखिएको छ भने प्रदर्शन स्थलम टावर बन्द गरिएको छ ।

खबरपाटी
खबरपाटी