एएफसी एसियन छनोट : नेपाल र मलेसिया भिड्दै, यस्तो छ विगत

एएफसी एसियन छनोट : नेपाल र मलेसिया भिड्दै, यस्तो छ विगत

एएफसी एसियन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  मलेसियाको अब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेल मंगलबार राति पौने ८ बजे सुरु हुनेछ ।  नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो ।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए । खेलअघि सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए । 

‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ । बराबरीले पनि नेपालका लागि सन्तुष्ट हुने ठाउँ छ। तर हामी राम्रो योजनासहित जितका लागि प्रस्तुत हुनेछौँ,’ रोसले भने।  
यस्तै नेपालका कप्तान किरण चेम्जोङ ले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली समर्थकको साथमा राम्रो प्रदर्शन गर्ने बताए । सिङ्गापुरमा धेरै नेपाली समर्थकको साथ पाएको नेपालले मलेसियामा पनि सोही अपेक्षा गरेको किरणको भनाइ थियो ।

फिफा वरियतामा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबीच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ ।

जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो । नेपाल र मलेसियाबीच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २–० गोलले पराजित भएको थियो ।

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ । 

खबरपाटी
खबरपाटी