काठमाडौं । नेपालमा विगत २४ वर्षभन्दा बढी समयदेखि बालबालिकाको सम्वृद्धिका लागि कार्य गर्दै आएको संस्था वल्र्ड भिजन इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०२४ (अक्टोबर २०२३ – सेप्टेम्बर २०२४) को वार्षिक प्रगति प्रतिवेदन प्रसार गर्न आज काठमाडौंमा राष्ट्रिय स्तरको संगोष्ठीको आयोजना ग¥यो। कार्यक्रमले सरकारी निकाय, नागरिक समाज र स्थानीय साझेदारहरूसँगको सहकार्यमा कार्यान्वयन गरिएका वल्र्ड भिजनका मुख्य कार्य क्षेत्रहरू – स्वास्थ्य, शिक्षा, बाल संरक्षण, जीविकोपार्जन, पैरवी , लैङ्गिक समानता र विपद् जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा गरिएका प्रमुख उपलब्धिहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गरेको थियो ।
प्रगति प्रतिवेदनका साथै, वल्र्ड भिजनले ’नेपालमा बालबालिकामा अनलाईन सुरक्षाको अवस्था बारे अध्ययन’ र ’नेपालमा किशोर किशोरीहरूमा लागूपदार्थको प्रयोग सम्बन्धि उनीहरूको ज्ञान, धारणा र अभ्यास सम्बन्धि अनुसन्धान र सुझावहरू’ नामक दुई अध्ययनहरूको निष्कर्षहरू पनि साझा गरेको थियो ।
विशेष अतिथिको रूपमा कीर्तिपुर नगरपालिकाका मेयर श्री कृष्ण मान डंगोल रहेको सो कार्यक्रममा, बालबालिका, समुदायका वयस्क सदस्यहरु, सरकारी प्रतिनिधीहरु, दातृ निकाय, नागरिक समाज, संचारकर्मी तथा साझेदार संस्थाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिकाका मेयर श्री कृष्णमान डंगोलले ज्युले भन्नुभयो, “हामीले २०८३ सालको अन्त्यसम्ममा कीर्तिपुर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य राखेका छौं र यो लक्ष्य हासिल गर्न हामी वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यको अपेक्षा समेत गर्दछौं ।” उनले नगरपालिकामा बालश्रम नभएको कुरामा पनि जोड दिए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रोजलिन एच गेब्रियलले भन्नुभयो, “बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्न उनीहरुको संरक्षण एकदम महत्वपूर्ण हुन्छ। बालबालिकामाथिको जोखिम बढ्दै गएको क्रममा, हामीले सेवा गर्ने बालबालिका र समुदायहरूलाई सुरक्षित गर्ने वल्र्ड भिजनले प्रभावकारी कार्यक्रमहरू गर्दै जानेमा हामी प्रतिबद्ध छौं ।“
आर्थिक वर्ष २०२४ को वार्षिक प्रगति प्रतिवेदनले बाल सहभागिता, सहकार्य र दिगोपनामा ध्यान केन्द्रित गर्दै स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, बाल संरक्षण र विपद प्रतिकार्य मा वल्र्ड भिजन इन्टरनेशनल नेपालको कार्यप्रभावलाई प्रदर्शन गर्दछ। विगत एक वर्षमा, वल्र्ड भिजनले १०,५९६ बालबालिकालाई कुपोषणबाट बच्न मद्दत ग¥यो र ६१ स्वास्थ्य संस्थाहरू सुधारमा सहयोग ग¥यो। शिक्षामा, २०७ शिक्षकहरूलाई तालिम दिइएको थियो, ८ विद्यालयहरूमा कम्प्युटर प्रयोगशालाहरू स्थापना गरियो, ४३८ विद्यालयहरूलाइ आवश्यक सिकाइ सामग्रीहरूप्रदान गरिए र २९ नयाँ कक्षा कोठाहरू निर्माण गरिएका थिए। यसका साथै, १० स्थानीय सरकारहरूले बालमैत्री स्थानीय शासन घोषना गरे जसमा आवश्यक सूचकहरू पूरा गर्न वल्र्ड भिजन इन्टरनेशनल नेपालले पनि सहयोग गरेको थियो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा २१६ वटा ह्यान्ड पम्पहरूको जडानले सुरक्षित पिउने पानीमा पहुँच सुधार गर्यो, र समावेशी शिक्षा प्रवद्र्धन गर्न अपाङ्गता भएका बालबालिकाहरूलाई १७० वटा सहायक उपकरणहरू वितरण गरियो। संस्थाले जाजरकोट र बझाङमा गएको भूकम्प पछि ४६,४५० जनालाई आपतकालीन सहायता प्रदान ग¥यो र ३२ वटा अस्थायी सिकाइ केन्द्रहरू पनि निर्माण गरेको थियो ।
पूर्ण प्रतिवेदन वल्र्ड भिजन इन्टरनेशनल नेपालको वेबसाइट www.wvi.org/nepal उपलब्ध छ ।