रहस्यमय रूपमा मौनमा रहेका रवि लामिछाने के गरिराखेको छन् ?

रहस्यमय रूपमा मौनमा रहेका रवि लामिछाने के गरिराखेको छन् ?

काठमाडौँ ।  सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा हिरासतमुक्त भएपछि रहस्यमय रूपमा मौन बसेका छन् । 


सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका उनी ८४ दिन कास्की जिल्ला प्रहरीको हिरासत बसेर रिहा भएका थिए । 


पुस २६ गते कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका लामिछानेले त्यसपछि काठमाडौँ जिल्ला अदालतमा ६० लाख, रुपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ र चितवनबाट ५४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।


धरौटी बुझाएर अदालतबाट रिहा भएयता सामाजिक सञ्जाल, मिडिया तथा सार्वजनिक मञ्चबाट उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।तारिख बुझ्न आइतबार कास्की पुगेका उनी आजै बेलुका रूपन्देही जाने तयारीमा रहेका लामिछाने निकटस्थले बताएका छन् । 


कास्कीबाहेक बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा बहुउद्देश्यीय सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पर्साको सानो पाइला बचत तथा ऋण सहकारी हिनामिना गरेको आरोप लामिछानेमाथि छ । 

चार वटा अदालतमा एक महिनाको अन्तरालमा तारिख बुझिरहेका उनी पर्सा जिल्ला अदालतको मुद्दाको पर्खाइमा छन् । प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार लामिछाने पार्टीको समग्र समीक्षा तथा भावी तयारीबारे प्रतिवेदन लेखिरहेका छन् । पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएपछिको अवस्था मूल्याङ्कन गरी पार्टीको जिम्मेवारीमा फर्किने तयारी लामिछाने रहेका न्यौपानेले जानकारी दिए ।  

‘उहाँ भोलि रूपन्देही अदालतको पहिलो तारिख बुझ्न आजै बुटवल जानुहुन्छ । एक महिनाको अन्तरालमा तारिख बुझिरहनुभएको छ । सरकारले अहिलेसम्म पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छैन । त्यहाँको स्थिति के हुन्छ, त्यही कुरेर बस्नुभएको हो’, न्यौपानेले भने, ‘उहाँ अहिले रास्वपाको समग्र समीक्षा गर्दै हुनुहुन्छ । भावी तयारी, पार्टीको रणनीतिलगायत विषयमा समीक्षात्मक प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । पर्साको मुद्दा हेरेर पार्टी काममा फर्किने बेला उहाँले केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्नुहुन्छ । सोही भएर अहिले कतै प्रतिक्रिया दिनुभएको छैन । मौन बस्ने नीति नै हो ।’

पर्सा जिल्ला अदालतमा मुद्दा लम्बिए लामिछानेले अगाडि नै आफ्ना धारणा बाहिर ल्याउन सक्ने पनि न्यौपानले बताए । ‘सबै अवस्था बुझेर पार्टी काममा फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ । साथै हिरासत बसाइको अनुभवबारे डायरी लेख्ने सोच उहाँले बनाउनुभएको छ । यद्यपि लेख्न थाल्नुभएको छैन’, न्यौपानेले भने ।

यस्तै लामिछानेको मौनताबारे कार्यवाहक प्रवक्ता मनीष झासँग प्रतिक्रिया लिएका थियौँ। जवाफमा झाले मौन बस्नुको चासो पत्रकारलाई र चिन्ता कांग्रेस र एमालेलाई भएको बताए । लामिछानेले मात्र नभई पार्टीका अन्य नेताले पनि मिडियालाई प्रतिक्रिया नदिने नीति रहेको उनले स्पष्ट पारे ।  

‘चासो पत्रकारलाई हो । अरू पार्टीलाई चिन्ता हो । रवि लामिछाने के गरिराखेको छन् रु किन बोल्दैन रु बोलेको भए हामी पनि रियाक्ट गथ्यौँ । कुरा काट्थ्यौँ । मञ्चमा गएर बोल्थ्यौँ । रवि पूरै मौन बस्दिँदा उहाँहरूले बोल्न पाउनुभएको छैन । कांग्रेस र एमालेलाई पूरै चिन्ता हो । ठग ठग भनिराखेको थियो अदालतले रिहा गर्ने आदेश दियो’, झाले भने, ‘हामीले नयाँ तयारी गरिराखेका छौँ । त्यसैले रवि मौन बसेका हुन् ।’ 

आफूहरू पनि मिडियामा धेरै नगएको बताएका उनले रविको तयारीबारे केही नभन्ने बताए । ‘हामी कानुन र संविधानभित्रै रहेर गर्छौँ । हामी रवीन्द्र मिश्र बन्दैनौँ,’ उनले भने । 

गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि पाँच वटा सहकारीबाट ६५ करोड बचत अपचलन गरेको आरोप छ । लामिछानेलाई चार वटा अदालतले कैफियतसहित धरौटीमा छाड्न आदेश दिए पनि ‘क्लिन चिट’ पाइसकेका छैनन् । पर्सा जिल्ला अदालतमा सरकारले लामिछानेविरुद्ध अहिलेसम्म मुद्दा नै दायर गरेको छैन ।

चितवन–२ बाट २०७९ सालको निर्वाचनमा भारी मतान्तरले विजयी भएका उनी दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सोही वर्ष माघमा सांसद पद खारेज गरेको थियो । २०८० सालमा भएको उपनिर्वाचनमा चितवन–२ बाट फेरि भारी मतान्तरले विजयी भएका लामिछानेको सांसद पद फेरि निलम्बनमा परेको छ । 

रास्वपाले लामिछानेको पक्राउ राजनीतिक पूर्वाग्रह भन्दै आएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा मुद्दा लागेको छ । पछिल्लो पटक चितवन जिल्ला अदालतबाट ५४ लाख धरौटीमा छुटेका लामिछानेले समय आएपछि प्रतिक्रिया दिने बताएका थिए ।

खबरपाटी
खबरपाटी