काठमाडौं। नेपालका लागि नवनियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा विकास प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ।
बैठकमा कोलकाताका लागि इटालीका मानार्थ महावाणिज्यदूत श्री रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक श्री राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत सुश्री प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यहरू उपस्थित थिए।
छलफलका क्रममा द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यवसायिक सञ्जाल विस्तार तथा मुख्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा ध्यान केन्द्रित गरिएको थियो। राजदूत बार्तोलीले पर्यटन, पूर्वाधार तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउन इटाली सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले दुई देशबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारीहरू प्रवद्र्धन गर्न संघको भूमिका महत्वपूर्ण हुने बताए।
बैठकमा नेपाल–इटाली सम्बन्धलाई आगामी वर्षहरूमा अझ मजबुत बनाउन सहकार्यात्मक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।