
आस्था शर्मा , काठमाडौँ । बर्दियाको बढैया ताल क्षेत्र, जहाँ एक समय पानी नै जीवन थियो, अहिले जलवायु सङ्कटका कारण मुहानहरू सुक्खा हुँदै गएका छन् । प्राकृतिक जलस्रोतहरूको गिरावटले केवल वातावरणीय प्रभाव मात्र पारेको छैन, यसले बासिन्दाहरूको दैनन्दिन जीवनमा समेत गहिरो असर पुर्याएको छ ।
“हामीलाई बिहानको चिया पकाउने पानीसमेत जोहो गर्न गाह्रो छ, “ राम प्यारीलेले भनिन्, “महिनावारीका समय झन् कष्टकर हुन्छ । सफा पानी नहुँदा हाम्रो स्वास्थ्य नै जोखिममा परेको छ । “
जलवायु परिवर्तनको असरले यो गाउँलाई मात्र होइन, यहाँका बासिन्दाहरूको जीवनशैलीलाई समेत तहसनहस बनाइरहेको छ। प्राकृतिक स्रोतहरू सुकेपछि खेतीपाती सङ्कटमा परेको छ, जङ्गलको छेउमा बस्ने समुदाय आफ्नो थातथलो छाड्न बाध्य भएका छन् ।
जलवायु परिवर्तनको असर केवल तापक्रम वृद्धिमा सीमित छैन । पानी अभावका कारण महिलाहरूलाई स्वच्छता कायम गर्न कठिन भइरहेको छ, जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । छोरीहरू विद्यालय जान छाड्न बाध्य छन्, कनिभने विद्यालयमा आवश्यक शौचालय सुविधा छैन। जलवायु अन्यायको प्रत्यक्ष मार उनीहरूकै जिउमा परेको छ ।
विशेषज्ञहरूका अनुसार जलवायु न्यायको बहस केवल कार्बन उत्सर्जन मात्र होइन, सामाजिक न्यायको विषय पन हो । जब जलवायु सङ्कट गहरिन्छि, महिलाहरू झन् बढी प्रभावित हुन्छन् । बढैया तालका बासिन्दाहरूको कथाले देखाउँछ क जलवायु सङ्कट कुनै टाढाको समस्या होइन—यो उनीहरूको दैनन्दिन सङ्घर्ष बनिसकेको छ ।
बर्दियाको बसगढीस्थित शान्तिनगरका सुदीप थारु भन्छन्, “अनिश्चित जलवायु परिवर्तनका कारण पुर्खौँदेखि कृषि पेसामा आश्रित थारु समुदायका मानिसहरू अहिले बिदेसिन बाध्य भएका छन्। जलवायु अस्थिरताका कारण खेतीपातीमा गिरावट आउँदा, आफ्नो परिवार चलाउन उनीहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन्।
सरकारले मौसम पूर्वानुमानसम्बन्धी जानकारी समयमै किसानहरूलाई उपलब्ध गराएमा कृषि उत्पादन सुधार गर्न सहयोग पुग्ने उहाँको धारणा छ । साथै, हामी जङ्गल क्षेत्र नजिकै बसोबास गर्ने भएकाले वन डढेलो रोक्न गाउँका मानिसहरूबिच पालैपालो वन अनुगमन गर्ने नियम बनाएको बताउँछन् ।
स्थानीय स्तरमा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रभावकारी उपायहरू आवश्यक छन् । वन डढेलो रोकथामका लागि समुदाय–आधारित निगरानी प्रणालीलाई अझ व्यवस्थित बनाउन सकिन्छ, जस्तै आधुनिक प्रविधि (जस्तै, ड्रोन वा सोलार–सञ्चालित बाच टावर) को प्रयोग गरेर जङ्गलको निगरानी गर्नु । साथै, पानी संरक्षण तथा पुनः उपयोग गर्ने प्रविधिहरू जस्तै रेनवाटर हार्भेस्टिङ प्रवर्द्धन गर्नुपर्छ, जसले खेतीमा पानी अभावको समस्या कम गर्न सहयोग गर्छ । यस्ता कुराहरू प्रति सबै तहका सरकारको ध्यान जान निकै आवश्यक रहेको देखिन्छ ।
सुदीप जस्तै अन्य स्थानीय किसानहरूले थारु समुदायका परम्परागत कृषि प्रणालीलाई जलवायु–मैत्री प्रविधिसँग जोडेर सुधार गर्न सके, पेसालाई निरन्तरता दिन सहज हुने बताउँछन् । साथै, मौसम पूर्वानुमान प्रणालीलाई बलियो बनाउँदै, किसानहरूलाई समयमा नै सूचना दिन सके, उनीहरूले आफ्नो कृषि रणनीति परिवर्तन गर्न सक्नेछन् ।
अर्की स्थानीय बडैयातालकी राम प्यारी थारु भन्छिन्, “फागुन सुरु हुनासाथ हात पम्पबाट पानी आउन बन्द हुन्छ ।” यहाँ करिब २०० घरधुरी छन्, जसले यो समस्याको सामना गरिरहेका छन् । खानेपानी अभावका कारण गाउँलेहरूलाई २–३ घण्टा टाढासम्म हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ ।
पहिले यहाँका गाउँलेहरू कृषिमा निर्भर थिए, तर पछिल्ला वर्षहरूमा पानीको समस्या दिन प्रतिदिन बढ्दै गएकाले तरकारीसमेत फलाउन गाह्रो भइरहेको छ । पानी अभावले गर्दा घरपालुवा जनावरहरू पनि प्रभावित भएका छन् । उनीहरूका लागि पिउने पानी पर्याप्त नहुँदा स्वास्थ्य समस्या देखिन थालेको छ ।
“फागुन सुरु हुनासाथ हात पम्प सुख्खा हुन्छ ।” बडैयातालकी राम प्यारी थारु बोल्दै गर्दा उनको आवाजमा थकान मात्र होइन, गहिरो पीडा झल्किन्थ्यो । “हामीलाई पानीको थोपा थोपा अमृतजस्तै लाग्छ । यहाँ करिब २०० घरधुरी छन्, सबैले एउटै समस्या भोगिरहेका छौँ ।”
पहिले यो गाउँ हराभरा थियो । धान, गहुँ, तरकारीले खेतबारी भरिभराउ हुन्थे। तर अहिले? पानी छैन, खेती सुख्खा बन्दै गएको छ। “ माटो बाँझो बन्दै गएको छ, जसरी उनीहरूको आशा पनि सुक्दै गएको छ ।”
घरमा मात्रै होइन, पानीको सङ्कटले पशुहरू पनि तड्पिरहेका छन् । “गर्मी महिनामा तापक्रम ४५ डिग्री पुग्दा हामी त जसोतसो सहन्छौँ, तर बोल्न नसक्ने गाईबस्तुहरू? उनीहरूको आँखामा पानीको भोक देख्न सकिन्छ ।” भन्दै उनी भक्कानिन्छिन् ।
बाँच्नको लागि केही त गर्नै पर्ने भयो । गाउँका धेरै परिवारले माछा पालन सुरु गरे, बोरिङ खने। तर त्यो पनि वरदान बनेन, बरु श्राप बन्यो। “जति बोरिङ थपिँदै गयो, त्यति नै जमिनमुनिको पानी घट्दै गयो । अब त हात पम्पले पनि धोका दिन थालिसक्यो।”
पानीको अभावले महिलाहरूलाई महिनावारीको समयमा थप कष्ट हुन्छ । “प्याड फेर्न त परै जाओस्, हात धुने पनि पानी हुँदैन,” राम प्यारी भन्छिन्, आँखा रसाउँदै । पानीकै कारण बच्चाहरू पनि विद्यालय जान सक्दैनन् । “फागुनपछि पानी छैन, खान पकाउन सकिँदैन, बच्चाहरू समयमै स्कुल पुग्न सक्दैनन् ।”
यो बाँच्नका लागि सङ्घर्ष मात्र होइन, अस्तित्वको लडाइँ हो । सरकार र सरोकारवाला निकायहरू कहिलेसम्म यो गाउँको चीत्कार नसुन्ने? अब समाधान खोज्न ढिला गर्नु भनेको यी गाउँलेहरूलाई अझै धेरै दुःख भोग्न बाध्य बनाउनु हो ।
रिर्पोटिङका क्रममा हामी बर्दिया राष्ट्रिय निकुञ्जभित्रको एउटा गाउँ पुग्छौँ – थेमिनी । करिब २०० भन्दा बढी घरपरिवार बसोबास गर्ने यो गाउँ कहिल्यै पानीको समस्या झेल्नुपर्ने ठाउँ थिएन । यहाँको मानव निर्मित ताल गाउँलेहरूको जीवन र कृषि प्रणालीको मेरुदण्ड थियो।
तर अहिले ?
ताल सिँचाइको स्रोत होइन, खेल्ने मैदान बनेको छ । “पहिले यही तालले २०० घरका खेतहरूमा पानी पु¥आउँथ्यो, तर अब यहाँ बालबालिकाले फुटबल खेल्छन्,” गाउँकी जय सरा खत्री निराश हुँदै भन्छिन्, ।
ताल सुक्न थालेपछि गाउँलेहरूले बोरिङ पानीको प्रयोग गर्न थाले । तर यसले समस्या समाधान गर्नुको सट्टा झन् जटिल बनाइदिएको गाउँलेहरूले महसुस गरेका छन् । राम्रो नीति नियम नभएको कारण जथाभाबी बोरिङ खनिएकोले अवस्था झन् नाजुक बन्दै गएको उनीहरूको बुझाई छ ।
“बोरिङको पानीले जमिनको प्राकृतिक स्वभाव बिगार्दै छ, बिरुवाहरूमा रोग लाग्न थालेको छ, उत्पादन घटेको छ,” जय सराले थपिन्। पहिले असारमा धान रोपिन्थ्यो, अहिले त्यही समयमै खेत बाँझै बस्न थालेका छन्।
थेमिनी गाउँ निकुञ्जसँग जोडिएको छ । पानीको सङ्कटले गाउँलेहरू मात्र होइन, वन्यजन्तुहरूलाई पनि प्रभावित भएका छन् । “वनमा पानी नभएपछि हरिण, ध्वाँसे गाईजस्ता जनावरहरू गाउँ पस्न थालेका छन्, अब त साँझ बिहान घरबाहिर निस्किन पनि डर लाग्छ ।” उनी अतासिँदै बताउँछिन् ।
गाउँलेहरूको दुख सुन्दै गर्दा गाउँमा अहिले आगलागीको समस्या झन् चर्किएको छ, त्यसले गाउँलाई थप जोखिममा पार्दै गरेको प्रति उनीहरू निकै चिन्तित देखिन्छन् ।
“वैशाखदेखि हात पम्पको पानी घट्दै जान्छ, जेठ–असारमा त थोपा थोपा मात्रै देखिन्छ, जबसम्म पानी पर्दैन, हामीले दुःख सहनु नै पर्छ,” बसगढीकी अर्की स्थानीय जीवन कुमारी चौधरी बताउँछिन् ।
कृषि नै जीविकोपार्जनको मुख्य आधार भएको यो गाउँमा पानीको एक मात्र स्रोत अहिले आकाशे पानी बनेको छ । तर जब वर्षा समयमा हुँदैन, खेती चौपट हुन्छ, अन्न उब्जिन्न, र भोकमरीको डरले सताउन थाल्छ । जीवन कुमारीसँग हाल ५ कट्ठा जमिन मात्र छ, जुन उनको परिवारलाई जोगाउने एक मात्र सहारा हो, तर पछिल्ला वर्षहरूमा त्यस जमिनले अन्न उत्पादन गर्न छाडिसकेको उनी बताउँछिन् ।
“६० वर्षको उमेरमा मेरा श्रीमान् दैनिक ज्याला मजदुरी गर्न टाढा–टाढाका सहरहरू पुग्नुहुन्छ, किनभने घरमा खाने कुरै छैन,” उनी भन्छिन्, आँखामा निराशाका भाव बोकेर। परिवारलाई जोगाउन उनीहरूले एक गोरु पालेका थिए, तर त्यो पनि म¥यो। “हामी ऋण लिएर नयाँ गोरु किन्ने प्रयास गर्दैछौं, यदि गोरु किन्न सकिएन भने यसपालि हाम्रो सानो खेत टाढैबाट हेर्न मात्र सकिनेछ, त्यहाँ केही पनि रोप्न सकिने छैन।”
जसरी गर्मीमा पानीको अभाव गाउँका लागि श्राप बन्छ, त्यसै गरी बर्खामा डुबान अर्को सङ्कट बन्छ । “हरेक वर्ष बर्खा लागेपछि हाम्रो घर पानीमै डुब्छ, हाम्रो चाडपर्वहरू – दसैँ, तिहार – सबै अन्धकारमा बित्छ,” जीवन कुमारी आशु पुछ्दै भन्छिन्।
“पानी फोहर हुन्छ, बालबालिकाहरू बिरामी पर्छन्, औषधि किन्ने पैसा हुँदैन, अनि त्यो रोगले हामीलाई झन् कमजोर बनाइदिन्छ,” उनी भन्छिन् । पानीको चरम अभाव, खाद्य सङ्कट, आर्थिक समस्याले गाँजिएको यो गाउँमा बाँच्ने सङ्घर्ष हरेक वर्ष थप कठिन बन्दै गएको छ ।
२०८० सालको असोज महिनामा लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह उच्च भएपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका लगभग १,४०० घरहरू डुबानमा परे। यसले धेरै परिवारलाई विस्थापित ग¥यो र धान बालीमा ठुलो क्षति पु¥यायो । तर यसमा पनि सरकारको ध्यान आर्किष्ट हुनु सकेन ।
२०७८ सालको असोज महिनामा, यसै क्षेत्रमा करिब ८०० घरपरिवार विस्थापित भएका थिए । कर्णाली नदीमा पानीको सतह बढेसँगै मानिसहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भए। अधिकारीहरूले नदी किनारामा जान नहुन चेतावनी दिएका थिए।
यी घटना बारम्बार दोहोरिनु जलवायु परिवर्तनका कारण बाढीको तीव्रता र आवृत्ति बढेको प्रमाण हो। यसले स्थानीय समुदायहरूलाई विस्थापित गर्दै कृषि क्षेत्रमा ठुलो क्षति पु¥याएको छ ।
२०४० साल देखि जलवायु परिवर्तनको समस्याको सुरुवात भएको दृष्टान्त गाउँका अर्का बासिन्दा वीर बहादुर थारु सुनाउँछन् । बेमौसमी पानी पर्ने, मुहान सुख्खा हुँदै जाने, बेमौसमी सित लहरका केही अंशहरू उही बेलादेखि महसुस हुँदै गर्दा पहिले सबै प्रतिकीलाई दोष दिने चलन गाउँमा थियो । तर समयसँगै यो समस्या यती विकराल बन्दै गयो कि अहिले गाउँलेहरूले आफूले आफूलाई दोष दिने गर्दछन् गल्ती आफूहरूबाट भएको बोध भएको उनी बताउँछन् । वन जङ्गल मास्दै गयौँ, खोला किनारहरू अधिग्रहण गर्दै गयौँ, जनसङ्ख्या वृद्धिसँगै खोलाको बाटो मिच्यौँ र फलस्वरूप सयौँ घर डुबानको स्थिति सृजना भयो । कर्णालीमा बाँध बनाउन गाउँलेहरूले ५० बिघा आवासीय जग्गा बाँध बनाउनका लागि सर्म पर्ण गरे, समस्या केही न्यून भएपिन दीर्घकालीन समाधानका रूपमा कणालीको वाहावबाट स्थानीय सधैँ त्रसित रहने स्थितिको अन्त्य भने भएको छैन । बाढीको कारण सबै गाउँ छोड्न बाध्य छन् । बाढीले घर बगाउँदा सरकार समाधान होइन भुजा र दालमोटको राहत वितरण गर्न आइपुग्छ । १० १२ दिन पछि राहत वितरण गर्न आउँदा बाढी पसेर सुकेको ठाउँमा निहाल्दै ननिहाली १० १२ जना लाई मात्र उक्त राहत वितरण गरेर जाने प्रथा नै रहेको उनी बताउँछन् । स्थानीय सरकारले सम्पूर्ण जिम्मा लिनु पर्ने तर आइ एन जी यो मा स्थानीय सरकार आश्रित रहेको प्रतिक्रिया दिन्छन् । उनीहरूले आएर गर्छन् जस्तो प्रतिक्रिया स्थानीय सरकारबाट पाउनु निकै खेदजनक रहेको उनी बताउँछन् ।
बढैयाताका बासिन्दाहरूको पीडा केवल एउटा गाउँको कथा होइन, यो जलवायु अन्यायको तीव्र चेतावनी हो। जब स्रोतहरू सुक्छन्, केवल पानी हराउँदैन—जिन्दगीका अवसरहरू मर्छन्, सपना रोकिन्छन्, र भविष्य अन्योलमा पर्छ। महिलाहरू स्वास्थ्य सङ्कट भोगिरहेका छन्, किशोरीहरू शिक्षा गुमाइरहेका छन्, किसानहरू आफ्नो पुर्ख्यौली माटो छोड्न बाध्य छन्, र वनछेउका समुदायहरूको अस्तित्व नै सङ्कटमा छ।
सरकार र नीति निर्माताहरूले यो सङ्कटलाई कति समय नजरअन्दाज गर्ने? जलवायु परिवर्तनको असर अब केवल हिमालमा मात्र सीमित छैन, यसले सामाजिक अन्यायको भयावह रूप लिइसकेको छ । पानीको अधिकार, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार—यी सबै जलवायु सङ्कटले खोसिरहेको छ ।
समयले प्रश्न गरिरहेको छ: विकासका नाराहरू कतै खोक्रा त छैनन्? जलवायु न्यायका लागि वास्तविक कदम कहिले चालिन्छ? समाधान खोज्ने जिम्मेवारी सरकारको हो, तर भोग्नुपर्ने पीडा भने बढैयाताका निर्दोष बासिन्दाहरूको । यदि तुरुन्तै प्रभावकारी नीति, दीर्घकालीन योजना, र स्थायी समाधान लागू गरिएन भने, बढैया ताल जस्ता गाउँहरू इतिहासमा हराउनेछन्, र उनीहरूको पीडादायी कथा फेरि दोहोरिरहन्छ।
अब पनि ढिलो गर्ने हो ? कि आवाज उठाउने बेला यही हो ?