काठमाडौं । नेपाल प्रिमियर लिगलाई एसोसियट्सकै नम्बर एक फ्रेन्चाइज क्रिकेट बनाउने प्रयासमा छ नेपाल क्रिकेट संघ क्यान । एनपीएललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न क्यानले कुनै असर छोडिरहेको छैन । त्यसैमध्येका एक पहलका रुपमा वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा नेपाल आउँदै छन् ।
क्यान सचिव पारस खड्काले अस्ति सामाजिक सञ्जालमा स्टाटस लेख्दै लारा नेपाल आउने खबर सार्वजनिक गरेका थिए । उनको स्टाटसमा धेरै क्रिकेटप्रेमीले खुशी व्यक्त गर्दै पारसलाई धन्यवाद दिएका छन् ।
क्यान प्रवक्ता छुम्बी लामाले लारा भोलि काठमाडौं आइपुग्ने जानकारी दिए । उनी बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने तालीका रहेको छ । लारालाई स्वागत गर्न नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीहरु विमानस्थल पुग्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्नेछन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।
लामा भन्छन्, ‘उहाँबाट हाम्रा खेलाडीहरुले धेरै इनपुट लिन सक्नेछन् । साथै, उहाँको आगमनले एनपीएलको अन्तर्राष्ट्रियकरणमा थप टेवा पुग्ने आशा लिएका छौं ।’
एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो ।
लारालाई नै छनोट गरिनुको कारणबारे लामा भन्छन्, ‘विश्व क्रिकेटका सबैभन्दा ठूला नाम भनेको सचिन तेन्दुलकर र ब्रायन लारा नै हुनुहुन्छ । तेन्दुलकर विगतमा नेपाल आइसक्नुभएको छ । लारा अहिलेसम्म आउनुभएको छैन । त्यसैले उहाँलाई निमन्त्रणा गरिएको हो ।’
अहिले एनपीएलमा वेस्ट इन्डिजका केही खेलाडीहरु विभिन्न टिमबाट खेलिरहेका छन् । नेपालले टि २० विश्वकपमा स्थान बनाएपछि लाराले सामाजिक सञ्जालबाट बधाइ दिएका थिए । उनले नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका थिए ।
को हुन् ब्रायन लारा रु
५५ वर्षिय ब्रायन लारा सर्वकालिन महान क्रिकेटरमा पर्छन् । टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन् उनी ।
लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धसतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धसतकसहित १० हजार ४०५ रन बनाएका छन् ।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।