डाक्नेश्वरी १ का नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको आरोप

डाक्नेश्वरी १ का नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको आरोप

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहमाथि बलात्कारसहित तीन वटा कसुरको आरोपमा अनुसन्धान हुने भएको छ।


मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरक्षिक मनिष श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोप छ। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।


साहसतिका ओरोपिविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।
यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्दक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो।

उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो।


उच्च सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।

२०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयमा यो उजुरी पनि दर्ता गरेर साउन १५ गते पक्राउ अनुमति समेत लिइसकेको थियो।  

३८ वर्षका धिरेन्द्र वडाध्यक्षमा निर्वाचित भएपछि कार्यभार सम्हाल्न नपाउँदै हिरासत पुगेका हुन्।

खबरपाटी
खबरपाटी