पोखराको कीर्तिमानी जित, लुम्बिनी १० विकेटले पराजित, गोसको शतक

पोखराको कीर्तिमानी जित, लुम्बिनी १० विकेटले पराजित, गोसको शतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)टी–२० क्रिकेटको एघारौँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । 

पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । जारी एनपीएलको यो सबैभन्दा फराकिलो जित हो । 

सो क्रममा १७१ रनको चुनौती पोखराले १६.५ ओभरमै कुनै विकेट नगुमाइ पूरा गरेको हो । 


एन्द्रेस गोसले ५५ बलमा १०४ तथा दिनेश खरेलले ४६ बलमा ६१ रन बनाए । गोसको यो एनपीएलकै पहिलो शतक हो । 

त्यस्तै गोस र खरेलको यो पहिलो सबैभन्दा ठूलो साझेदारी पनि हो । लुम्बिनीका सबै बलर फ्ल सिद्ध भए । 

यसअघि त्रिवि कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको कप्तानी इनिङ्सले ५ विकेटको क्षतिमा १७० रन बनायो । 

रनआउट हुनुपूर्व रोहितले ५९ बलमा ९५ रन बनाए । जारी एनपीएलमा यो एक खेलाडीको सबैभन्दा बढी रनमा दोस्रो हो । पहिले रोहितले रेकर्ड राखेकामा गोसले त्यसलाई तोडे । 

चौथो विकेटका लागि रोहितसँग मिलेर ११० रनको साझेदारी गर्ने क्रममा टम मोर्सले रनआउट हुनुअघि ३८ बलमा ४५ रन बनाए । 

पोखराका लागि बिपिन खत्रीले २ विकेट लिए । 

यो नतिजासँगै पोखराले लगातार दुई हारपछि पहिलो जित निकालेको छ । लुम्बिनीले भने दुवै खेल हारेको छ । जारी लिगमा लुम्बिनीमात्र अंकविहीन बनेको छ । 

फराकिलो जितका कारण २ अंकको पोखरा पाँचौँ स्थानमा पुगेको छ । कर्णाली याक्स र विराटनगर किंग्स २ अंकमै भए पनि पोखरा भन्दा पछाडि छन् । 

जनकपुर बोल्टस ६ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स र चितवन राइनोज समान ४ अंकबाट दोस्रो र तेस्रो स्थानमा छन् ।  

यसअघिका खेल
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 

खबरपाटी
खबरपाटी