काठमाडौं । विरानगर किंग्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्नेक्रममा विराटनगरले बुधबार लुम्बिनी लायन्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो ।
आफ्नो तेस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १९।४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । योसँगै विराटनगर जारी एनपिएलमा १ सय ९२ रनको लक्ष्य पूरा गर्ने पहिलो टिम बन्यो ।
उसका लागि लोकेश बमले आक्रामक पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौकासहित सर्वाधिक ७१ रनको पारी खेलेका हुन् । यस्तै, बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८ तथा क्रिस सोलले अविजित १४ रनको योगदान दिए ।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले सानदार बलिङ गरे । उनले ४ ओभरमा २१ रन दिएर तीन विकेट लिए । यस्तै, रोमन सिमन्ड्स र साद बिन जाफरले दुईरदुई तथा विवेक यादवले एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
यस्तै, टम मोरिसले ३०, विवेककुमार यादवले अविजित १९, अर्जुन साउदले १७, सादबिन जाफर र आशुतोष घिरैयाले १५र१५ र सन्दीप जोराले १२ रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एकरएक विकेट लिए । विराटनगरले चार विकेट रन आउटको रूपमा प्राप्त गर्यो ।
विराटनगर पहिलो र दोस्रो खेलमा क्रमशः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
लुम्बिनीको भने यो पहिलो खेल हो । आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हरायो ।