१२ दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत भेटिए

१२ दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत भेटिए

काठमाडौं । १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत फेला परेका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । ​​

विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उहाँ एकाएक सम्पर्कविहीन बनेका थिए । 

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् ।​

मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

खबरपाटी
खबरपाटी