काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटस दूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँगको छलफलमा प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका हुन् ।
सरकारले लगानीको वातावरण बनाउने भन्दै ढुक्क भएर साझेदारी गर्न उनले अनुरोध गरे । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको उनले बताए ।
‘लगानीको वातावरण बनाउन चाहिने आधारहरू सरकारले बनाउँछ । ढुक्कको वातावरण हामी निर्माण गर्छौं । प्रदेशको आर्थिक विकाससँग जोडिएका आयोजनालाई अघि बढाउन हामीसँग प्रशस्त बजेट छैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘दातृ निकाय, निजी क्षेत्रसँग सहकार्य गरेर महत्त्वपूर्ण आयोजनालाई अघि बढाउन चाहन्छौं ।’
प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, वौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजना अघि बढाउन सक्नेगरी लगानीको क्षेत्रबारे जानकारी गराएको छ । शिवपुरदेखि कालाकाटेसम्म सुरुङ्ग मार्गको परियोजना ७ किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले १८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसँग पहुँच सहज हुने विश्वास छ ।
‘यी आयोजना अघि बढे प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्छ । घाटा होइन नाफामा जाने आयोजना हुन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकार, दातृ निकाय, निजी क्षेत्रबीच सहकार्यमा अघि बढाउन सकिन्छ । प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ ।