काठमाडौँ । आईतबार धुमबाराही स्थित साइपाल एकेडेमीमा भव्यताका साथ हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिर जवाफ प्रतियोगिता काठमाडौँ उपत्यकाबाट ३२ स्कुलको सहभागिता रहेको थियो । फाइनलमा पुगेका टप ४ विद्यालयहरूले ट्रफी उचालेका थिए । जसमा सेन्ट जोसेफ स्कुल प्रथम, ब्राइट फियुचर्स एकेडेमी दोस्रो, फुल ब्राइट एकेडेमी तेस्रो र वीज किड्स इन्टरनेश्नलले चौथो ट्रफिको उपाधी पाएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा इन्डियन आइडलको टप १० प्रतिस्पर्धी मेनुका पौडेले विद्यार्थीहरूको हौसला बढाएकी थिइन् । आफ्नो जीवनको भूमिका साट्दै गायिका पौडेले प्रतिस्पर्धामा जित्नु भन्दा ठुलो कुरा भाग लिनु रहेको बताउँदै सबै विद्यार्थीहरुलाइ बधाई दिएकी थिइन् ।
कार्यक्रमलाई समापन गर्दै प्रमुख अतिथि नेपालका प्रसिद्ध साहित्यकार राम देव पाण्डेले एउटा गजलसँगै आफ्नो विद्यार्थी जीवनमा आफू कहिल्यै दोस्रो नभएको दृष्टान्त सुनाएका थिए । हाजिर जवाफ प्रतियोगितामा एक जना प्रथम भएता पनि सयौँको सङ्ख्याले ज्ञान आर्जन गर्ने राम्रो प्लेटफर्म रहेको उल्लेख गरेका थिए ।
त्यसै आयोजक साइपाल एकेडेमीका प्रिन्सिपल गणेश जोशीले स्कुल पढ्ने विद्यार्थीहरूको मनोबलको विकास र विद्यालयमा ज्ञानमय वातावरण बनाउन गरिएको उक्त कार्यक्रममा सोचे जस्तै परिणाम पाइएको उल्लेख गरेका थिए । विद्यार्थीलाई सुशासन र अनुशासनको ज्ञान सिकाउन यस हाजिर जवाफ प्रतियोगिताले उल्लेखनीय भूमिका खेलेको उनको भनाई थियो