त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ। आज ७३ हजार बढी विद्यार्थी दीक्षित हुने त्रिविले जानकारी दिएको छ।
७३ हजार विद्यार्थी दीक्षित हुने भए पनि १२ हजार ४०० जति विद्यार्थीहरू रंगशालामै उपस्थित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए।
त्रिविले यसपटकको दीक्षान्त समारोह दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गरेको छ। यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह गर्दै आएकामा ठाउँ साँघुरो भएकाले त्रिविले दशरथ रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन्।
एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू समेत काठमाडौं आएका छन्।
यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक/कर्मचारी, अतिथिहरू, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ।
पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरूलाई टुँडीखेलमा पार्किङ गर्न भनिएको छ।
त्रिपुरेश्वर कालीमाटी रुटबाट आउने सवारीसाधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ।