यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पथप्रदर्शक तालिम

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पर्यटन क्षेत्रमा आबद्ध गराई उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पथप्रदर्शक तालिम

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पर्यटन क्षेत्रमा आबद्ध गराई उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०द्वारा संयुक्तरूपमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना ९एसटीएलआरपी० तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नेपालमै पहिलोपटक यस्तो तालिम आयोजना गरेको हो । पैतीस दिने तालिममा २५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सहभागिता थियो ।

तालिमका सहभागीलाई आज एक कार्यक्रमका बीच प्रणाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि सञ्चालित यो कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताउनुभयो ।

समाजमा हरेक खालका मानिसका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्री किरातीले तालिमले ‘एलजीविटीआइक्यूएपल्स’ समूहका सदस्यलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ”, उहाँले भन्नुभयो, “यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि ‘एलजीविटीआइक्यूएपल्स’ समूहका सदस्यलाई नेपाल आउन सहयोग पुग्नेछ ।”

युएनडिपी नेपालका ‘पोर्टफोलियो म्यानेजर’ कल्पना सरकारले अल्पसङ्ख्यकलाई समाजको मूल प्रवाहमा ल्याउन अझै पनि ठलो चुनौती रहेको अवस्थामा यस किसिमको तालिमले सो समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेको ‘एलजीविटीआइक्यूएपल्स’  समूहका सदस्यलाई नेपालमा आकर्षित गर्न पनि यो तालिम कोशेढुङ्गम सावित हुने बताउनुभयो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालिमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको बताउनुभयो । तालिममा सहभागी सुलभ मोक्तानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि आयोजना गरेको तालिमले आफूहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी