झोलुङ्गे पुल निर्माणले यात्रा सहज

पुल अभावका कारण यहाँका नागरिकले वर्षौँंदेखि भोग्दै आएको आवतजावतको समस्या धेरैहदसम्म समाधान भएको छ ।

झोलुङ्गे पुल निर्माणले यात्रा सहज

 काठमाडौं । पुल अभावका कारण यहाँका नागरिकले वर्षौँंदेखि भोग्दै आएको आवतजावतको समस्या धेरैहदसम्म समाधान भएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्ने गरी पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयलाई सहज भएको हो । 

इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउलेस्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । गाउँपालिकाको आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक एवं सामाजिक सहजीकरणमा उक्त पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष नेपालका अनुसार ४९ मिटर लम्बाइ रहेको उक्त पुल ३२ लाख ४० हजार छ सय ४१ कूल लागतमा निर्माण सम्पन्न भएको हो । बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने तीन सय ४९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । 

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका अनुसार झोलुङ्गे पुल निर्माण हुँदा हिमाली क्षेत्रका स्थानीयलाई सहज भएको छ । नगर प्रमुख बस्नेतले नगरपालिकाका नौवटै वडामा झोलुङ्गे पुल निर्माण हुने बताउनुभयो ।

त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभे्रको भूल्मु गाउँपालिका –२ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण भएको उक्त पुलको लम्बाइ तीन सय १० मिटर रहेको सुनकोशी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु महतले  जानकारी दिनुभयो ।

 उक्त पुल निर्माण भएपछि दुई जिल्लाका बासिन्दालाई आउजाउमा सहज भएको  वडा अध्यक्ष महत बताउनुहुन्छ । उहाँका अनुसार  पुल निर्माणले  घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने यात्रा १० मिनेटमै छोटिएको छ ।

 हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गणमा निर्माण भएको  एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल तयार भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदैँ आएको झण्डै पाँच घण्टाको समयमा उल्लेखनीय कमी आउने र उकाली ओरालीको कष्टकर यात्रासमेत गर्न नपरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । रासस

खबरपाटी
खबरपाटी