मलेरिया नदीको पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा  सास्ती

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ ।

मलेरिया नदीको पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा  सास्ती

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वितिसक्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्नु परेको स्थानीयवासीको भनाइ थियो ।  

“योसँगै निर्माण सुरु भएका अन्य पुल सम्पन्न भइसकेका छन्, यो पुल अझै निर्माण भएको छैन”, स्थानीयवासी उमादेवी भट्टले भन्नुभयो, “पुल निर्माणमा ढिलाइ हुँदा आवातजावतमा सास्ती भोग्नु परेको छ ।”वर्षात्मा उर्लेर आउने नदी वारपार गर्न समस्या हुने गरेको दोधारा चाँदनी नगरपालिका–१ की पार्वती कुमारी भट्टले बताउनुभयो ।

“नदीमा पानी धेरै आउँछ, समयमै पुल नबन्दा आवातजावत गर्नै कठिन हुने गरेको छ”, उहाँले भन्नुभयो, “चाँडो पुल निर्माण भए सहज हुने थियो ।”ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भइरहेको भटृको भनाइ थियो । रु चार करोड ६१ लाख ३४ हजारमा पुल निर्माणको जिम्मा पाएको  शङ्करमाली अकेला जेभीलाई पाँच पटक म्याद थप गरिए पनि काम भने अपुरै छ ।
विसं २०७४ वैशाख १४ गते सम्झौता भएको पुल निर्माणको काम विसं २०७५ साल कात्तिक १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।त्यसपछि पाँच पटक९ विसं। २०७६  जेठ २, विसं २०७७ पुस, विसं २०७८ असार, विसं २०७८ चैत  र विसं २०७९ चैतमा० म्याद थप्दा पनि पुल निर्माणको आधा मात्रै सकिएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार हालसम्म पुल निर्माणको काम ५३ प्रतिशत मात्रै सकिएको छ । बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरिरहेको उक्त कार्यालयका सूचना अधिकारी पीयूष चटौतले बताउनुभयो ।
“हामीले निर्माण कम्पनीलाई पत्राचार गरेर स्पष्टीकरण सोधेका छौँ”, उहाँले भन्नुभयो, “चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढ्छ ।” निर्माण कम्पनीले कोरोना महामारी, चुनाव, मूल्यवृद्धि तथा मजदुर अभावको कारण देखाएर पुल पटक–पटक म्याद थप गरेको देखिएको सूचना अधिकारी चटौतले उल्लेख गर्नुभयोे । पुल निर्माणको ५३ प्रतिशत भौतिक प्रगति भएकामा हालसम्म रु दुई करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ । रासस

खबरपाटी
खबरपाटी