काठमाडौं । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९र८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ ।
अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार गरिएको कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले बताउनुभयो । उहाँका अनुसार अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघलगायत वन्यजन्तुको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
त्यस्तै, करेत सर्प, निल गाईको बच्चा, हुचिल ९वान उल०, धामन सर्प, सालक र चित्तलको बच्चा १र१ वटा उद्धार गरिएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मृत अवस्थामा बँदेल, चितुवा र बाघ १र१ वटा उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका वन्यजन्तुलाई जिल्लास्थित विभिन्न सामुदायिक वनमा पुनःस्थापना गरिएको बताउँदै केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको खड्काले जानकारी दिनुभयो ।
घाइते वन्यजन्तुलाई वन कार्यालयमा राखेर औषधि उपचारपश्चात् पूर्णरूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिएको वन कार्यालयले जनाएको छ । जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चहलपहल हुनु, बाटो बिराएर मानवबस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका उहाँको भनाइ थियो । रासस