पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्यः डा आरजु राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य हो भन्नुभएको छ ।

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्यः डा आरजु राणा

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य हो भन्नुभएको छ । 

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताउनुभयो । 

नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिनुभएको हो । उहाँले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरु सफल हुने धारणा राख्नुभयो । 

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गर्नुभयो । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो ?”, उहाँको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उहाँले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताउनुभयो । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उहाँको पत्नीका रुपमा चार÷पाँच ठाउँमा पुगेकी छु”, उहाँले भन्नुभयो, “हाम्रा मन्त्रीहरु सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरुले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणपत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

उहाँले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरु असफल हुने गरेको उहाँको टिप्पणी थियो । उहाँले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताउनुभयो । नेता राणाले पार्टीका नेताहरु नै आफूहरु फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै यसबीच सन्तुलन आवश्यक रहेको बताउनुभयो । 

नेता राणाले पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै सङ्ख्याले सबै अर्थ नराख्ने बताउनुभयो । “मलाई यस्तो जिल्ला र वडाहरु थाहा छ, जहाँ क्रियाशिल सदस्यभन्दा कम भोट आएको छ”, उहाँले भन्नुभयो, “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा राणाले कांग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिनुभयो । विश्वभर धुव्रीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ यस विषयमा स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विश्व नै धुव्र्रीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उहाँको भनाइ थियो । रासस

खबरपाटी
खबरपाटी